काठमाडौं– पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने नेता श्रेष्ठको ८० वर्षका उमेरमा सोमबार निधन भएको थियो।
ललितपुरस्थित निदान अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको निधनमा सदनको आजको बैठकले शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ। (रासस)