काठमाडौं – शरीरमा कोषिकाहरूको अनियन्त्रित विकास हुनु नै क्यान्सर हो। समयमै उपचार भएन भने यो ज्यानै लिने रोग हो। क्यान्सर विश्वभर प्रकोपको रूपमा फैलिरहेको छ।
नेपालमा क्यान्सरपीडितको यकिन तथ्यांक छैन। तर, मुख्य अस्पतालहरूमा पछिल्लो वर्ष संकलित आँकडाअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर भएको पाइएको छ। त्यस्तै, दोस्रोमा पाठेघरको मुखको क्यान्सर पर्छ।
क्यान्सरका थुपै कारणहरु छन्। त्यसैले यसबाट बच्नका लागि आफ्नो जीवनशैलीमा परिवर्तन आवश्यक छ। शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन्। हाम्रो शरीरमा यो प्रक्रिया सँधै चलिरहन्छ। क्यान्सर भएको अवस्थामा शरीरमा रेड ब्लड सेल्स र ह्वाइट ब्लड सेल्स अनावश्यकरुपमा बढ्न थाल्छ। यसका कोशिकाहरु बिस्तारै शरीरमा फैलिन्छन।
क्यान्सरको जोखिमहरु
१. सुर्तिको सेवन छाडौं
क्यान्सरको खतरा सुर्ति खाने तथा चुरोट पिउने व्यक्तिहरुमा अत्यधिक हुन्छ। यसले किड्नीको क्यान्सर ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुनसक्छ। क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण सुर्ति नै रहेको पाइएको छ।
२. चुरोट वा बिँडी सेवन नगर्ने
बिँडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन्। यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन्। चुरोट वा बिँडी सेवन नगर्ने तर अरुले फालेको धुवाँको सम्पर्कमा निरन्तर बसिन्छ भने पनि खतरा हुन्छ।
३. शरीरलाई फुर्तिलो राख्ने र तौल नियन्त्रण
शरीरको वजनलाई नियन्त्रणमा राख्नका लागि तपाईंले हरेक दिन शारीरिक परिश्रम गर्नु आवश्यक छ। एकै ठाउँमा बसेर काम गरिन्छ भने बिहान वा बेलुका समय निकालेर आधा घन्टा ब्यायाम गर्ने गरौं।मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ।
४. पौष्टिक खानेकुरा खाने
पौष्टिक आहारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ फ्रुट्स हो, त्यसको गुणस्तर र सरसफाईमा ध्यान दिनुपर्छ। घरमा प्रयोग हुने तेल, मसला र रासनको गुणस्तरमा ध्यान दिनु आवश्यक छ।
मिसावटयुक्त र केमिकलयुक्त दूध तथा यसबाट बनेको पनिर, मिठाई र व्यञ्जनको प्रयोगले पनि शरीरलाई नोक्सानी र्पुयाउँछ। बढिभन्दा बढि गेडागुडी र दालको प्रयोग गरौं। जंक फुडहरुमा क्यालोरीको मात्रा बढि हुन्छ र स्वाद बढाउनको लागि कैयौ हानिकारक तत्वहरु प्रयोग गरिएको हुन्छ।
५. घामका हानिकारक किरणहरुबाट बच्ने
घामको साथमा अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन्। सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ।
सनस्क्रिनले केही हदसम्म हानिकारक किरणहरुको प्रभावबाट बचाउँछ। घाममा निस्कदा शरीरलाई ढाक्नु उपयुक्त हुन्छ। आँखालाई किरणहरुबाट बचाउनका लागि सनग्लास लगाउने र गाढा रंगका लुगा लगाउनुपर्छ।
६. अल्कोहल सेवन खतरनाक
आवश्यकताभन्दा बढि अल्कोहल शरीरका लागि खतरानक हुन्छ, यसले क्यान्सरको पनि खतरा उत्पन्न गर्छ। बढि मात्रामा लामो समयसम्म अल्कोहल सेवन गर्दा फोक्सोको क्यान्सर, स्तन क्यान्सर र गुदा क्यान्सर हुने सम्भावना बढ्छ।