सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द भएको छ। चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो। नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।
सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए। उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनले बताए।
उनका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ। “चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ”, उनले भने । कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ। रासस