काठमाडाैं – चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेशनको लिमिटेड मोबिलिटी सेवाको अनुमतिपत्र खारेज भएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरण नगराएको भन्दै आइतबारदेखि नै लागु हुने गरी कम्पनीको लाइसेन्स खारेज गरेको हो।
बागलुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लाका लागि छुट्टा छुट्टै रुपमा प्राप्त लाइसेन्स खारेज भएको छ। ती जिल्लाहरुमा लिमिटेड मोबिलिटी सेवा सञ्चालनका लागि कम्पनीले २०६६ मा प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेको थियो।
प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सीजीको लाइसेन्स खारेज गरिएको उल्लेख गरेको छ। ‘२०७६ को माघ १९ गतेदेखि लागू हुने गरी स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।
तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालीले अनुदान परियोजनाको रुपमा दूरसञ्चार सेवा सञ्चालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पछि सीजीले खरीद गरेको थियो। कम्पनीको उक्त लाइसेन्स भने कायमै रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। लाइसेन्स कायम रहेको भए पनि कम्पनीसँग त्यसको सेवा र ग्राहक भने छैनन्।