काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले मधेसबाट संगठन निर्माणको सुरुवात गर्ने भएका छन्। संगठन विभाग प्रमुखसमेत रहेका गौतमले उपाध्यक्ष बनेपछि संगठन सबैभन्दा विवादमा रहेको प्रदेश–२ बाट ‘एक्सन’ सुरुवात गर्न लागेका हुन्।
माघ १५ गतेदेखि १९ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा प्रदेश–२ का अध्यक्ष प्रभु शाहले मधेसमा संगठनको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। शाहले समग्र प्रदेशकै राजनीतिक अवस्था, चुनौतीपूर्ण र जटिल रहेको उल्लेख गरेका थिए। पार्टीको संगठनमा अनुशासन नभएको र समस्याले ग्रस्त भएको उनको भनाइ थियो।
‘आज कम्युनिस्ट आन्दोलन उत्कर्षमा पुगेर देश कम्युनिस्टमय छ तर बिडम्बना विगतमा कम्युनिस्ट आन्दोलनको आधारभूमि रहेको प्रदेश नम्बर २ मा पार्टी रक्षात्मक अवस्थामा घिस्रिन बाध्य छ’, केन्द्रीय समितिमा प्रदेश अध्यक्षको हैसियतमा शाहले भने, ‘यो अवस्था सिर्जनामा प्रतिक्रियावादी शक्ति मात्र कारक नभई मुलभूत रुपमा हाम्रै पार्टीले पनि जनताको माग एवम् परिस्थिति अनुरुप आफ्नो नीति, निर्णय र कार्य सम्पादन गर्न नसक्नु तथा सही नेतृत्व विकासमा उदासिन हुनुजस्ता कारण रहेको छ।’
उनले पार्टी संङ्कटमा पर्दा अराजकता मचाउने र विद्रोहसमेत गर्ने तथा परिस्थिति सहज र पार्टी बलियो हुँदा पार्टीमा फर्किने र नेतृत्वको नजिक रहेको र सत्ता स्वादका लागि अस्वभाविक चाकरी गर्नेजस्ता स्थानीय नेतृत्वमा देखिएको अवसरवादी प्रवृतिका कारण पनि प्रतिक्रियावादीसँग दृढतापुर्वक निरन्तर संघर्ष गर्न नसक्दा पार्टी कमजोर भएको उनको रिपोर्टिङ थियो।
प्रदेश–२ को संगठनमा देखिएको विवाद समधान गर्न बामदेवले पहिलो चुनौती मोलेका हुन्। गौतम माघ २३ देखि २६ गतेसम्म तीन दिन तराई झर्न लागेका हुन्। यसलाई उनको पहिलो ‘मुभ’का रुपमा लिइएको छ।
प्रदेश–२ को संगठनको विषयमा केन्द्रीय समितिमा चर्काचर्की भएको थियो। यही विषयमा पार्टीमा उजुरीसमेत परेको थियो। गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको नेकपा बैठकले मधेसमा संगठनभित्र देखिएको विवाद समाधान गर्ने जिम्मा संगठन विभागलाई दिएको थियो।
पार्टीले प्रदेश–२ को संगठनमा देखिएको विवाद मिलाउने जिम्मा पाए पनि तराई नझरेका बामदेव उपाध्यक्ष भएपछि पहिलो ‘एक्सन’का साथ मधेस जान लागेका हुन्।
गौतमले तीन दिनसम्म प्रदेश २ का आठ जिल्लाका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसँग फिल्डमै काम गर्नेछन्। प्रदेश–२ मा शाह अध्यक्ष छन् भने इन्चार्ज सत्यनारायण मण्डल हुन्।
विश्वनाथ साह सहइन्चार्ज छन् भने सुमन प्याकुरेल प्रदेश कमिटी सचिव। कार्य्विभाजनमा विवाद हुँदा नागेन्द्र चौधरी र महेन्द्र पासवान सहइन्चार्ज थपिएका थिए।
१३ बुँदामा प्रभु शाहको रिपोर्टिङ, ओली र प्रचण्डलाई प्रश्नः पद छोड्न र काम गर्न पनि नदिने कहिलेसम्म ?
अध्यक्ष शाह प्रचण्ड निकट हुन् भने इन्चार्ज मण्डल अध्यक्ष केपी ओली निकट हुन्। सहइन्चार्जमा माधव नेपाल, नारायणकाजी श्रेष्ठ र प्रचण्ड निकट नेताबीच भागबन्डा छ। केन्द्रले भागबन्डा मिलाउन नयाँ सहइन्चार्ज बनाए पनि इन्चार्ज मण्डल र अध्यक्ष साहले उनीहरुलाई बैठकबारे जानकारी नदिएको विषयले केन्द्रीय समितिमा चर्चाचर्की भएको थियो।
यस्तै विभिन्न विवादमा रुमलिएको प्रदेश–२ को संगठनमा देखिएको समस्या समाधानका लागि गौतमले ‘एक्सन’को सुरुवात गर्न लागेका हुन्।