एजेन्सी–दक्षिणी लन्डनमा आइतवार दिउँसो मानिसहरूलाई अन्धाधुन्ध चक्कु हान्ने एक पुरुषको प्रहरी कारबाहीमा मृत्यु भएको छ। सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए। आतंकवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको थियो। आधा सजाय भोगेपछि उनी मुक्त भएका थिए।
जेलबाट छुटेपछि अम्मान प्रहरीको सक्रिय निगरानीमा थिए। तर उनले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्न भ्याए। उनको शरीरमा कुनै उपकरणजस्तै देखिने नक्कली वस्तु टाँसिएको प्रहरीले जनाएको छ। आक्रमणमा तीन जना घाइते भए। तीमध्ये एक जना जीवन जोखिममा हुने खालको अवस्थामा भएको बताइएको छ। प्रहरीले प्रहार गरेको गोली लागेर ती आक्रमणकारीको मृत्यु भयो।प्रहरीले घटनालाई इस्लामिक अतिवादसँग जोडिएको आतंकवादी आक्रमण भनेको छ। विवरणहरूका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे। त्यसपछि उनले बाहिर निस्किएर एक महिलालाई पनि आक्रमण गरेको देखिन्छ।
सशस्त्र प्रहरीहरू उक्त स्थलतिर आएर मानिसहरूलाई पछि सर्न भनेपछि प्रत्यक्षदर्शीहरूले तीन चोटि गोली चलेको सुनेको र एक व्यक्ति बूट्स फार्मेसीबाहिर लडिरहेको देखेको बताएका छन्। उक्त घटनापछि प्रधानमन्त्री बोरिस जोनसनले आतंकवादसम्बन्धी मुद्दामा सजाय खेपिरहेका व्यक्तिहरूसँग गरिने व्यवहारबारे सोमवार सरकारले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन्। उनले भनेका छन्, ‘आतंकवाददप्रति गरिने व्यवहारबारे सरकारले तत्काल नयाँ व्यवस्था गर्नेछ।’ त्यसमा लामो जेल सजाय र प्रहरीलाई थप बजेट विनियोजन गर्ने विषय पनि हुनेछन्। गत नोभेम्बर महिनामा पनि लन्डन ब्रिजनजिकै आतंकवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गरेर दुई जनाको ज्यान गएको थियो। उनी पनि समेत आधा सजाय भोगेर जेलबाट छुटेका थिए। उनको पनि प्रहरी कारबाहीमा मृत्यु भएको थियो।
एकपछि अर्को गरी भएका यी घटनाका कारण सरकारभित्रै छिटो काम गर्ने जागरुकता देखिएको बीबीसी संवाददाता बताउँछन्। प्रधानमन्त्री जोनसनले तत्काल कारबाही गरेको भन्दै प्रहरीको बहादुरीको प्रशंसा गरेका छन्। आक्रमणकारीको नाम सुदेश अम्मान भएको प्रहरीले बताएको छ। उनले नोभेम्बर २०१८ मा आतंकवादी सूचना भएका कागजपत्र आफूसँग भएका छवटा र आतंकवादसम्बन्धी प्रकाशित सामग्री वितरण गरेका सातवटा अभियोगहरू स्वीकार गरेको बीबीसी संवाददाता ड्यान्यल डि सिमोन बताउँछन्। एटा आतंककारी आक्रमणको योजना बनाएको आशंकामा उनलाई सर्वप्रथम मे २०१८ मा उत्तरी लन्डनबाट पक्राउ गरिएको थियो।
सन्देश आदानप्रदान गर्ने एप टेलिग्राममा प्रेषित सामग्रीका कारण सोही वर्ष एप्रिल महिनामाउनी प्रतिआतंकवाद हेर्ने प्रहरीको दृष्टिमा परेका थिए।
ड्यान्यन डि सिमिनका अनुसार टेलिग्राममा प्रेषित एउटा तस्बिरमा एउटा चक्कु र दुईवटा बन्दुकका चित्र तथा अरबी भाषामा ‘शस्त्रसहित अप्रिल ३ का लागि तयार’ अर्थ लाग्ने शब्द अंकित इस्लामिक झण्डा थियो।बीबीसी