एजेन्सी– भारतमा मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले सडक निर्माणका लागि फोहोर प्लास्टिक प्रयोग गर्न नयाँ प्रोजेक्ट लन्च गर्ने भएको छ।
रिलायन्सले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणसँग प्लास्टिकबाट सडक निर्माण गर्ने प्रविधिको प्रयोगलाई अनुमति दिनको लागि अनुरोध गरेको छ। सो प्रविधिबाट सडकको आयु बढ्नुका साथै प्लास्टिकबाट हुने प्रदूषण पनि कम गर्न सकिन्छ।
कम्पनीले भारतको राजगढ जिल्ला स्थिल नागोथाने विनिर्माण संयन्त्रमा प्रविधिको परिक्षण गरेको थियो। कम्पनीले सो संयन्त्रमा ५० टन प्लास्टिकबाट ४० किलोमिटर लामो सडक निर्माण गरेको हो। सो सडक निर्माण गर्नको लागि कम्पनीलाई १४ देखि १८ महिनाको समय लागेको थियो।
प्लास्टिकबाट निर्माण गरिएको सो सडकले गुणस्तर पनि बढाउन मदत गरेको हुन्छ । यसको लागि मात्र ८ देखि १० प्रतिशत मात्र अलकत्राको प्रयोग भएको थियो। सो प्रविधिबाट सडक निर्माण गर्नको लागि २ महिनाको समय लागेको थियो। सो प्राणालीबाट बनेको सडक वर्षाको पानीले पनि केही असर नगर्ने कम्पनीको दाबी छ।
१ किलोमिटर लामो सडक निर्माणको लागि करिब १ टन प्लास्टिकको प्रयोग भएको कम्पनीले जनाएको छ। साथै एक किलोमिटर सडक निर्माणको लागि करिब १ लाख भारु बचत हुने कम्पनीले दाबी गरेको छ। सो हिसाबले कम्पनीले करिब ४० लाख बचत गरेको हो।