पाल्पा– पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन्। हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन्। पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै छ।पूर्वखोलाका ९० वर्षीय डिल्लीसरा आलेले हिँडेर स्वास्थ्यचौकी पुग्ने अवस्था नहुँदा डाक्टर घरमै आएर जाँच गर्दा निकै खुशी लागेको बताएका छन्।
‘आफ्ना छोराछोरीले झैँ घरमै आएर स्वास्थ्य अवस्था बुझ्ने र औषधि दिने गरेको देख्दा अचम्म लाग्छ’,आलेले थपे ‘गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ। योभन्दा राम्रो खबर के हुन्छ र?’ वृद्ध र शारीरिक हिसाबले कमजोर नागरिकलाई स्वास्थ्य जाँच तथा उपचारका निम्ति रिङ्नेरह स्वास्थ्यचौकीका कर्मचारी घरघरमै पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिएका छन्।
उनले प्रदेश नम्बर ५ सरकारको समन्वयमा गाउँपालिकाभरिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिने अभियान नै रहेको जानकारी दिएका छन्।पूर्वखोला–२ जल्पाका ८९ वर्षीय खडानन्द अधिकारी पनि घरमा स्वास्थ्यकर्मी आएर उपचार गर्छन् भन्ने कहिल्यै नसोचेको बताएका छन्।
उनले घरमै आएर स्वास्थ्य परीक्षण गरेर औषधि पाउँदा बूढेसकालमा हिँडेर स्वास्थ्य केन्द्र धाउन नपरेकामा खुशी व्यक्त गरेका छन्।चौरासी वर्षका नागरिकलाई घरघरमै पुगेर रक्तचाप,ग्याष्ट्रिकलगायत रोगको परीक्षण गरी खानपान, स्याहारसुसार र बसाइका सन्दर्भमा परामर्शसमेत दिने गरिएको रिङ्नेरह स्वास्थ्यचौकीका प्रमुख श्रीराज आचार्यले बताएका छन्।
ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसँगै आवश्यकतानुसार निःशुल्क औषधिसमेत प्रदान गरिएको पूर्वखोला गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिएका छन्। प्रदेश सरकारले ८४ वर्ष उमेरमाथिका नागरिकको उपचारमा समन्वय गरेको र गाउँपालिकाको पनि छुट्टै ८० वर्षमाथिका नागरिकको परीक्षण अभियान जारी रहेको गाउँपालिकाले जनाएको छ।
पालिकाका छवटै वडामा पोषणका निम्ति हर्लिक्सलगायत गाउँपालिकाले दिन मिल्ने खालका औषधि वितरण तथा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारेमा अभिलेख राख्ने कार्यक्रम भइरहेका छन्।
गाउँपालिकाले नागरिक स्वास्थ्य परीक्षणसँगै अनिवार्य स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने व्यवस्था,गर्भवतीलाई अण्डा वितरण, सुत्केरीलाई जाउलो र जुवानोको झोल खुवाउने अभियान, स्वास्थ्य संस्थामै सुत्केरी हुनेका निम्ति नेपाल सरकारले दिनेबाहेक गाउँपालिकाबाट रु ३०० देखि ६०० प्रदान, सुत्केरीलाई अनिवार्य बेलाबेला घरमै पुगेर स्वास्थ्य परीक्षणलगायत काम गर्दै आएको पूर्वखोला १ का वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिएका छन्। गाउँपालिकामा अहिले ८० वर्षमाथिका करीब २५० को हाराहारीमा ज्येष्ठ नागरिक रहेको गाउँपालिकाको तथ्याङ्क छ। रासस