बझाङ– सदरमुकामभन्दा अलि तल देउरा बजार आउँछ। देउरा बजारको अलि पछाडि टिनको सानो छाप्रो छ। त्यस छाप्राको बाहिरतिर सधैँजसो एक ६५–६६ वर्षीय मानिस दिउँसोतिर घाममै पल्टिन्छन्। घर परिवारबाहेक कसैले चासो नदेखाएको उनले बोलेको नबुझिने भएको रहेछ।
उनी ओलकबहादुर राई हुन्। उनले भने,‘म चार वर्षदेखि पाक्षाघातको बिरामी छु। उठ्न सक्दिन।’उनकी श्रीमतीले निर्मलाले पुख्यौँली घर रामेछाप भए पनि सडकको काम गर्दागर्दै बझाङ आएको ४० वर्ष जति हुँदा पनि त्यही टहरामुनि बसेको बताएकी छिन्। राईलाई बिरामीले च्यापेको पनि चार वर्ष भइसक्यो।
ओलकले भने,‘छान्ना सडकखण्डमा काम गर्दा राति सुतेको बेला पिसाब फेर्न जाँदा सिँढीबाट लडँे त्यति बेला राति धामीझाँक्री कहाँ गयाैँ, ठीक भएन र पछिल्लो दिन बुटवल अस्पतालमा गयाैँ, पैसा धेरै खर्च भयो। ठीक भएन, पहिला एउटा खुट्टामा मात्र देखा परेको थियो अहिले त पूरै शरीर नचल्ने भएको छ। न उठ्न हुन्छ, न त हिँड्न।’ उनी मात्र हैन पक्षाघातबाट उनकी छोरीसमेत पीडित छिन्।
निर्मलाका अनुसार जुम्ल्याहा शिशु जन्मिँदा एउटा तुहिएको र एउटाकोे खुट्टा नचल्ने भएको छ। छोरी लक्ष्मीको बाल्यकालदेखि नै खुट्टामा सङ्क्रमण भएको र अहिले १४ वर्ष हुँदासम्म पैसाको अभावले बाबु ओलक र छोरी लक्ष्मीको उपचारमा समस्या भएको निर्मलाले बताएकी छिन्।‘पैसा भए पो उपचार गर्नू, पैसा नै छैन।
परिवार ठूलो भयो। नागरिकता पनि कसैको छैन। गृह जिल्ला रामेछापमा एक वर्ष अगाडि नागरिकता बनाउन गयौँ। आजभोलि काम हुँदैन भनेर जिल्ला प्रशासन कार्यालय रामेछापबाट घर फर्काएपछि हामी गएका पनि छैनाैँ। रामेछापमा घरजग्गा छ। घर जान र परिवार पाल्नलाई खर्च छैन, घर जाने त मन थियो नि।’
राई दम्पतीका छोराछोरी विद्यालय पनि जाँदैनन्।‘पैसा भए पो स्कूल जानू?’,ओलकले गहभरि आँशु पार्दै भने,‘आफू पनि कहीँ उपचार पाए केही दिन बाँच्छु कि लागेको थियो। अब त चार वर्ष भइसक्यो, काललाई पर्खिएजस्तो भएको छ।’
आफूले पैसा नभएर उपचार नपाए पनि उनलाई कलिलै उमेरमा छोरीको पनि उपचार हुँदा मर्छे कि भन्ने चिन्ता लाग्छ। ओलक आफू बिरामी भएको भन्दा पनि बढी छोरी बिरामी भएकामा चिन्तित छन्। ओलककी श्रीमतीले भनीन्,‘स्थानीय जडीबुटी ल्याएर खुट्टा तथा शरीरमा सेकसाक गर्छु।’ त्यही जडीबुटीको समेत तिर्नलाई पैसा छैन। उनको एक छोरी र दुई छोरा छन्।
जेठो छोरा मजदूरी गर्न अन्य जिल्ला गएका छन्। निर्मला भन्छिन्‘कान्छो छोराले गरेको मजदूरीको पैसाले हामी पालिएका छाैं। नेपालको संविधानमा स्वास्थ्योपचारको हकको व्यवस्था भए पनि हामी जस्ता असहाय र गरीबले उपचार खर्च नपाएर अकालमै मर्नुपर्ने अवस्था कतिञ्जेल रहने हो?’ रासस