पर्सा– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेकाे बताएका छन्। पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उनले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे।
नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले केन्द्रीय कमिटीले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्ण रुपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा १४ औँ महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको प्रस्ट पारे।
काँग्रेसभित्र विवादबारे बाहिर सञ्चार माध्यममा आएको समाचारजस्तो सही नभएको प्रस्ट्याउँदै उनले पार्टीलाई कमजोर पार्न गलत समाचार सम्प्रेशन भइरहेको जनाए। नेता सिंहले सरकारले विनियोजन गरेको विकास बजेट खर्च गर्न नसक्नु सरकारको असफलता रहेको आरोप लगाए।
युनियनका जिल्ला उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयनारायण थानी, केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायत उपस्थिति थियो।