एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ। मंगलबार राति रिप्ले खेलमा लिग वान क्लब श्रीउजवरी टाउनलाई १–० ले पराजित गर्दै लिभरपुल पाँचौ चरणमा पुग्न सफल भएको हो।
घरेलु मैदानमा लिभरपुललाई पाँचौ चरणमा पुर्याउन दोस्रो हाफमा रो साउन विलियम्सले गरेको आत्मघाती गोल नै पर्याप्त बन्यो। श्रीउजवरीको मैदानमा भएको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो।
दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेको थियो। प्रतिस्पर्धात्मक दोस्रोमा दुवै टोलीले गोलको अवसर खेर फालेको थियो। ७५औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बनायो। निको विलियम्सको लामो पासमा रो साउन र गोलरक्षकबीच तालमेल नमिल्दा रो साउनले आत्मघाती गोल गर्न पुगेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुदै पाँचौ चरणमा प्रवेश गर्न सफल भयो।
यस्तै रिप्ले खेलमै बर्मिङघमले कोभेन्ट्रीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाँचौ चरणमा पुग्न सफल भएको छ। निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। जसमा बर्मिङघमले बाजी मार्न सफल भयो।
रिडिङले कार्डिफ सिटीलाई पेनाल्टी सुटआउटमै पराजित गर्दै पाँचौ चरणमा स्थान बनाउन सफल भयो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
यस्तै डर्वीले नर्थह्याम्पटनलाई ४–२ ले पराजित गर्दै पाँचौ चरणमा प्रवेश गर्न सफल हुदा न्यु क्यासलले अक्सफोर्ड युनाइटेडलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको छ।