एजेन्सी– दक्षिण अफ्रिकी देश लेसोथोकी प्रथम महिलामाथि हत्या अभियोग लागेको छ। लेसोथोका प्रधानमन्त्री थोमस थाबानेकी श्रीमती मेसाहिया थाबानेले प्रधानमन्त्री थोमसकी पूर्व पत्नीको हत्या गरेको अभियोग लागेको हो।
प्रहरीले हत्या अभियोगका सम्बन्धमा मेसाहियासँग सोधपुछ गरेको छ। प्रधानमन्त्री थोमससँग पनि हत्याका सम्बन्धमा प्रश्न सोधिएका छन्। प्रधानमन्त्री थोमसकी पूर्व पत्नी लिपोलेलो थाबानेको सन् २०१७ मा उनको घर बाहिर हत्या भएको थियो।
प्रधानमन्त्री थोमसको शपथको दुई दिन पहिले लिपोलेलोको हत्या भएको हो। त्यसबेला उनीहरुको सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो र त्यो अति आरोपप्रत्यारोप युक्त बनेको थियो। सुरुमा अज्ञात व्यक्तिले लिपोलेलोमाथि गोली प्रहार गरेको बताइएको थियो।
तर अदालतमा पछिल्लो समय पेश भएका कागजातले शंका प्रधानमन्त्री पत्नी तर्फ सोझिएको हो। ४२ वर्षकी प्रथम महिला मेसाहियाविरुद्ध जनवरी १० मा पक्राउ पूर्जी जारी भएको थियो। उनलाई मंगलबार दक्षिण अफ्रिकासँगको सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ।