नेपाली साहित्यमा एक प्रगतिशील सोच र चिन्तनअघि सार्ने विशिष्ट सिर्जनधर्मी व्यक्तित्व हुन् नारायण ढकाल। उनको साहित्यलेखन कविताबाट आरम्भ भएको हो। प्रकाशनका रूपमा भने कथा र निबन्ध हुँदै उपन्यासमा पुगेर पाठकका हृदय र मस्तिष्कमा फराकिलो ठाउँ बनाइसकेपछि कविता सङ्ग्रह नरकको ढोका (२०७५) प्रकाशित भएको छ। उनका कथा सङ्ग्रहहरू सहरयन्त्र (२०५०), इरफान अलि (२०५२), आत्महन्ता (२०६२) तथा दुई बालकथा सङ्ग्रह गोमाको यार्लिङ र मुसेकान्छाको करामत प्रकाशित छन्। निबन्धमा तीन सम्वत्सर (२०५३) तथा शोकमग्न यात्रीहरू (२०५६) प्रकाशित छन्। तीन सम्वत्सर २०५३ सालको उत्तरशान्ति पुरस्कार प्राप्त गरेको कृति हो। यसरी नै उपन्यासमा पीत संवाद (२०५७), दुर्भिक्ष (२०५९), प्रेतकल्प (२०६२), बृषभवध (२०७१) तथा हजार माइलको यात्रा (२०७४) प्रकाशित छन्। विश्वपरिवेश, राजनीति र जीवनदर्शनमा आधारित आफ्ना कविताहरू उनले अहिले पाठकलाई हस्तान्तरण गरेका छन्। साहित्यकार ढकालसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको साहित्य संवादः
लेखनमा तपाईंले आख्यान र निबन्धलाई मूल विधा बनाउनुभएको छ, कविताको चिन्तन धेरै गर्नुभएको छ, कविता लेखन र प्रकाशनबीच यति ठूलो अन्तर किन भयो?
–हो, कविता प्रशस्त लेखेँ। लेखनको आरम्भ मैले कविताबाटै गरेको हो। हास्यव्यङ्ग्य निबन्धका धरोहर र विभिन्न पत्रपत्रिकाका गम्भीर सम्पादक भैरव अर्याल मेरा छिमेकी दाइ। गोर्खापत्रमा पठाएका मेरा कविता नछापिएपछि मैले उनलाई यो कुरा भनेँ। उनले खै कस्तो कविता लेखेका रहेछौ? हेरौँ त भने। मैले पनि उनलाई ५–६ वटा कविता लगेर दिएँ। कविता हेरेपछि उनले यस्ता रद्दी कविता छापिन्छन् त भनेर निराश बनाए। आफ्नै छिमेकी दाइले पनि यसो भन्ने भनेर तत्काल रिस पनि उठ्यो। तर यसबाट मैले अभ्यासमा जोड दिन थालेँ। एकवर्षपछि मेरा कविता छापिन थाले। यो घटनाले मेरो लेखन सुधारिएर गयो। मसँग सङ्ग्रह पुस्तक पुग्ने गरी नै कविताहरू भए। मेरा ५० वर्षदेखिका लामाछोटा आयामका कविताहरू मसँग प्रशस्त थिए। अहिले तिनैको प्रकाशन भएको हो।
लेखनमा परिमार्जनको आवश्यकताका सम्बन्धमा तपाईं मान्यता के छ?
–मेरो कुरा गर्नुहुन्छ भने लेखन परिष्कार र परिमार्जनविना, सम्पादनविना बाहिर ल्याउनु नै हुँदैन भन्ने पक्षमा म छु। म आफू पनि पहिलो लेखनलाई कैयौँपटक परीक्षण गर्छु। सुधार्छु। पुनर्लेखन गर्छु। म कैयौँपटक च्यातेर बल्ल एउटा पाण्डुलिपी तयार पार्छु। प्रेतकल्प मैले तीस पटकभन्दा बढी पुनर्लेखन गरेँ, र अझै सुधार्न पाएको भए राम्रो हुने थियो भन्ने लागिरहन्छ। यसमा मैले सुरुमा एक लाख शब्द लेखेँ। तीन पुस्ताको परिवेश बाजे, बा र मेरो समयको। पछि हेर्दा बाजेको समय मुख्य विषय हुँदाहुँदै पनि जम्मा दश हजार शब्द मात्र दिइएको रहेछ। त्यसलाई आन्तरिक र बाह्य परिवेशका कोणबाट बढाएर लेखेँ। अरू अनावश्यक लेखाइलाई हटाएँ। यसरी नै म पारिवारिक यात्रामा अमेरिकाको क्यालिफोर्निया गएका बेला त्यहाँको केही महिनाको बसाइमा एउटा उपन्यास लेखिसकेर आएँ, तर मलाई त्यो पछि हेर्दा रद्दी लाग्यो। यसको मतमल अब मैले यसलाई धेरै पटक परिमार्जन गर्नुपर्छ भन्ने हो। म यी मेरा स्वअनुभवका आधारमा अभ्यास र परिमार्जन दुवै लेखकका आवश्यक पक्ष हुन् भन्न सक्छु।
तपाईं उपन्यास, खासगरी पछिल्ला उपन्यासमा चित्रित परिवेशका लागि अधिकांश पाठक लोभिएको पाइन्छ, यो खुबी कसरी प्राप्त गर्नुभयो?
–परिवेश चित्रणको कलाले विषयलाई तिख्खर बनाउन मद्दत गर्छ। मेरा लेखनमा यी कुरा ल्याउन मलाई मेरो अध्ययनशील स्वभावले सघाएको भन्ने मलाई लाग्छ। मैले आरम्भमा केही फड्केर पनि लेखेछु, त्यसबेला मलाई पाठकले पत्याएनन्। पछि मैले परिवेशको चित्र दिन थालेपछि म पाठकमाझ रुचाइन थालेको अनुभव मलाई भयो। मैले रूसी साहित्य धेरै पढेँ। खासगरी टोल्स्टोयको लेखनमा आउने परिवेश चित्रणको सूक्ष्मता र त्यसले कथानकमा ल्याउने जीवन्तताको म पारखी बनेको थिएँ। यसरी नै बाह्य र आन्तरिक परिवेश निर्माण र चित्रणमा गोर्की र दोस्तोएभ्स्कीको शिल्प पनि मलाई बेजोड लाग्थ्यो। चिनियाँ लेखक लुसुनका रचनामा पनि म त्यो पाउँथेँ। पछि अफ्रिकी र ल्याटिन अमेरिकी साहित्यमा आएका नयाँ लेखकमा पनि मैले त्यो सबल पक्ष अनुभव पढिरहेको छु। विश्व साहित्यका अध्ययनका क्रममा अनुभव गरेको परिवेश चित्रणको विस्तारित स्वरूपले मलाई पनि परिवेश चित्रणमा सजग बनाएको हो।
ऐतिहासिक विषयमा आधारित आख्यानमा तथ्यपरकताका लागि के कस्तो समस्या परेको अनुभव छ?
–वास्तवमा म इतिहासको विद्यार्थी होइन। यसैले पनि प्रेतकल्पको विषयमा चन्द्रशमशेरको समयको समाजलाई जस्ताको तस्तै उभ्याउन मैले त्यो बेलाको समय सन्दर्भलाई राम्ररी केलाउनुपर्थ्यो, जुन कुरा इतिहासमा सम्पूर्णतः पाउन पनि सकिँदैन। त्यसैले मैले धेरै समकालीन साहित्यको अध्ययन गरेँ, धेरै सम्बन्धित पुराना–नयाँ व्यक्ति र इतिहासकारहरूसँग सहयोग लिएँ। तिनका पुस्तक पढेँ। पाएका तथ्यमा कल्पनाशीलता दिएपछि मात्र यो कार्य सम्भव भएको हो। त्यसैले इतिहासमाथि कलम चलाउँदा तथ्यको ज्ञानसम्म निष्पक्ष भएर पुग्न निकै सचेत भई सही सामग्रीको अध्ययन गर्नु आवश्यक हुन्छ।
–लेखकले विषय छनोट गर्नका लागि यथार्थको के कति सहारा लिएको हुन्छ? तपाईंको अनुभव के छ?
–आफूले भोगेको वा सुने–पढेको समयको सत्य तथ्य घटनाका आधारमा उभिएर एउटा लेखकले साहित्य सिर्जना गर्छ। यथार्थको धरातलले लेखकीय चेतनालाई जागृत गर्ने हो। मैले प्रेतकल्प लेख्दा त्यसको नायकमा मेरा हजुरबुबाको चरित्रलाई केही हदसम्म संयोजन, केही पुनर्निर्माण गरेको थिएँ। उहाँको जीवनीबाट प्रेरणा ग्रहण गरेकैले यो सम्भव भएको थियो। मेरा हजुरबुवा नामी ज्योतिष। सनातनी ब्राह्मण परिवारको विशिष्ट सामाजिक सदस्य। यही कारणले उहाँले आफ्नो विजातीय महिलासँगको प्रेमलाई समाजका अघि अपनाउन सक्नुभएन।
तर, प्रेम गाढा भएका अवस्थामा उहाँहरूबीच सबै किसिमको सम्बन्ध भएछ, र उहाँकी प्रेमिकाले गर्भ लिनुभएछ। पछि हजुरबुबालाई उजुरी परेर राणाका सेनाले पक्राउ लिन आउँदा राणाकै जिम्वालले नाम चलेका व्यक्ति भएका हुँदा जोगाएछन्। तर मेरा हजुरबुबा यसको पश्चात्ताप गरिरहनुहुन्थ्यो। प्रेम गरेकामा होइन कि त्यसलाई अपनाउने आँट नगरेकामा उहाँको पछुताउ थियो। उहाँ सत्यार्थ प्रकाश किताबको कुरा गरिरहनुहुन्थ्यो। आर्यसमाजी हुन नसकेकामा गुनासो गर्नुहुन्थ्यो। मैले हजुरबुबाको यही असफल प्रेम र कमजोर पात्रत्वलाई आधार मानेर एउटा बलियो आर्यसमाजी नायक निर्माण गर्ने आधार प्राप्त गरेको थिएँ। त्यसैले आख्यानमा आउने कल्पनाशीलता यथार्थको जगमा उभिएको हुन्छ भन्ने कुरा म मान्छु।
तपाईंकोहरू केही साथी सर्कलको एउटा सामूहिक जमघट र चिन्तन निरन्तर चलिरहेको सुनिन्छ, यस्ता भेटघाट र कुराकानी लेखनका लागि कत्तिको आवश्यक छ भन्ने ठान्नुहुन्छ?
–हाम्रो एउटा चिन्तनशील लेखकको समूह चावहिलको चिया पसलमा प्रायः बेलुका चारबजेपछिको समयमा भेट्ने गर्छौं। यसले हाम्रो वैयक्तिक लेखनको स्थिति बुझ्न सहयोग गर्छ र हाम्रो लेखन कतातिर गइरहेछ भन्ने जान्न मद्दत गरेको छ। म यस अर्थमा भाग्यमानी ठान्छु आफूलाई, केही प्रतिभाशाली साथीहरू यसमा हुनुहुन्छ। समाजशास्त्री चैतन्य मिश्र, खगेन्द्र संग्राैलाजी, आन्थ्रोपोलोजीमा रुचि देखाइरहेका सुरेश ढकाल र हामी लगायत रोशन शेरचनसम्म हाम्रो जमघटमा रहन्छौँ। यसमा हामी आ–आफूले पढेका किताबका बारेमा समीक्षात्मक जानकारी राख्छौँ। एकआपसका लेखनमाथि स्वतन्त्र आलोचना पनि गर्छौं, हामीबीच कुनै गुटबन्दी छैन। त्यसैले यो जमघट हाम्रा लागि लेखनको विकासमा ऊर्जा नै हुने गरेको छ।
–अनि सुरुका कविता लेखन र प्रकाशनको पृष्ठभूमि कालमा यहाँहरूले बुट पोलिस आन्दोलन पनि गर्नुभयो, यसको उद्देश्य चाहिँ के थियो?
–बुट पोलिस आन्दोलनको उद्देश्य प्रत्यक्षत: पत्रिका सञ्चालनका लागि अर्थ संकलन गर्नु थियो, परोक्ष रूपमा पञ्चायतको निर्णयको विरोध गर्नु थियो। त्यसबेला दर्ता नगरेरै पनि पत्रिका सञ्चालन गरिन्थे। नयाँ लेखकहरूका सिर्जनशीलतालाई प्रकाशित गर्ने उद्देश्यले सामूहिक संकलन प्रकाशित थियो, सरकारले दर्ता नगरेका पत्रिकामाथि नयाँ नियम ल्याएकाले त्यो संकटमा पर्यो। त्यसले रूपरेखाजस्ता स्थापित साहित्यकारका मात्र रचनाबाट चलेका पत्रिकालाई त केही फरक पारेन, तिनले नयाँ लेखकलाई कुण्ठित पनि पार्थे। तर, नयाँ पत्रिका धरापमा परे।
यसर्थ चन्दा नमागीकन रकम उठाउने उपाय स्वरूप बुटपोलिस आन्दोलन त्रिभुवन विश्वविद्यालय परिसरमा सुरु गरिएको थियो। पूर्व राजखलकका धीरेन्द्र शाह त्रिविमा पढ्थे। उनले १० रूपैयाँ दिए। र अरू अर्थ संकलनका लागि समेत सहयोग गरेका थिए। मैले पनि समजीको जुत्ता पालिस गरेर अर्थ संकलन गरेको थिएँ। यस आन्दोलनमा करिब १५ जना जति लेखक कविलगायत सदस्य थिए। हङ्ग्री जेनेरेसनका तर्फबाट चाहिँ सन्तोष र म नै यसमा संलग्न थियौँ। हामी कसैले पनि त्यसबेला कुनै राजनीतिक दलको सदस्यता नलिएकाले यो राजनीतिक आन्दोलन थिएन। हामी कोही पनि पक्रिइएनौँ।
कवितासम्बन्धी चिन्तन गर्नुभएको छ, यति लामो अन्तरालपछि कविता सन्तानलाई आफ्नो लेखकीय जीवनको स्पेस दिनुभएको छ । गिन्सवर्गको कविताबाट प्रेरित भएर निबन्ध लेख्नुभएको छ, कविता मन पर्नुको कारण के होला?
–कवितामा म आफूलाई लेख्छु, तर आख्यानमा अरूलाई प्रस्तुत गरिरहेको हुन्छु। म कविताको राम्रो पाठक पनि हुँ। लेखनमा मलाई कविता मन पर्ने विधा हो र चिन्तनमा पनि यसको नजिक घुमिरहन्छु। आख्यानमा मेरो आग्रह अरूतिर हुन्छ तर कवितामा म आफैतिर फर्किरहेको हुन्छु। कवितामा म स्वप्नदर्शी पनि हुन्छु। म स्वतन्त्र हुन्छु। पाब्लो नेरुदाको कविता चिन्तन र कविता दुवै मलाई मनपर्छ। यसरी नै गिन्सवर्ग मेरा मनपर्ने कवि हुन्। उनले वरण गरेको स्वतन्त्रता र स्वतन्त्रताका निम्ति उनले धारण गरेको अराजक र विद्रोही व्यक्तित्व सबै मभित्रको कविलाई मनपर्ने विषय हुन्।
आज नेपाली साहित्यमा बौद्धिक मन्थन गर्ने र सशक्त लेख्ने नयाँ पुस्ता आइरहेका छन्। तर, समाजमा तिनले सत्संग पाउन गाह्रो छ। पुरुष लेखकहरू खुलेर एक ठाउँ जम्मा हुन्छन्, अनुभव बाँड्छन् र लेखनलाई सशक्त बनाउन त्यो अन्तरक्रियाले सहयोग गर्छ तर महिलालाई हेर्ने दृष्टिकोण अझै पनि लेखनमै आएका कतिपय पुरुषको पनि गलत रहेको पाइएको छ, यसमा यहाँको विचार के छ?
–म पितृसत्ताको चस्माले महिलाका हरेक क्रियाकलापलाई हेरिने र नियन्त्रण गर्ने समाजकै पुरुष सदस्य हुँ। एउटी महिलाले आफूभन्दा अघि मोटरसाइकल कुदाइन् भने हीनताबोध गर्ने परम्पराबाट पुरुष मानसिकता बाहिर आउन सकेको छैन, यो गलत कुरा हो। यो गलत कुरा हो भनेर जान्नका लागि विवेक चाहिन्छ र विवेक विचारले बन्ने कुरा हो। विचारका लागि चेतना चाहिन्छ। यसर्थ चेतनाविहीनता नै आजको सबैभन्दा ठूलो समस्या हो। आजको महिला लेखन निकै अघि बढिसकेको स्वीकार्न सोचिरहनु पर्दैन। म तिनको सम्मान गर्छु। त्यो पूर्वाग्रह वास्तवमा ममा छैन। म सधैँ महिलाको अग्रगामी भूमिका रूचाउने लेखक हुँ। महिला र पुरुषको अपमान हुने समाज मलाई मन पर्दैन। त्यसैले कोही महिला लेखकप्रति गलत धारणा बनाउँछ भने त्यो गलत कुरा हो। लेखक यस्तो विचारबाट माथि उठ्नुपर्छ। हुन त सबैकुराको केन्द्रमा राजनीति छ। राजनीतिमा दवाव सिर्जनाका लागि ज्ञानको त्यो तहमा सबैले पुग्नुपर्छ, महिलाले वर्तमानमा सबै क्षेत्रमा पाएको अधिकार र अवसरको सदुपयोग गर्नु जरुरी छ।
समाजमा अन्यायमा परेका, हेपिएका महिला पात्रलाई आख्यानमा ल्याउनु भएको छ, त्यो कसरी संयोजन गर्नुभएको?
–प्रेतकल्पमा प्रयोग भएकी नारी पात्र चाहिँ मेरो काल्पनिक निर्माण हो। पहिले यस उपन्यासमा प्रेम लेख्ने विचार थिएन, तर तत्कालीन समाजमा रहेको बेथिति प्रस्तुत गर्न यो आवश्यक भयो। मेरा हजुरआमाहरूका बिम्बमा मैले ती पात्रलाई न्याय दिने कोसिस गरेको थिएँ, जुन यथार्थमा मेरा हजुरबुबाले गर्न सक्नुभएको थिएन। त्यसैले एउटा विधवासँगको नायकको प्रेम र विवाह संयोजन गर्नु त्यसबेला सांस्कृतिक परिवर्तनको चेतना जगाउनका लागि आवश्यक भयो। अर्को उपन्यास दुर्भिक्षकी नायिका सुप्रिया मैले कुनै रेस्टुरेन्टमा भेटेकै पात्र हो। पछि त्यताबाट माओवादी जनयुद्धमा लागेका पनि थिए। त्यसैले तिनका बिम्बमा मैले सुप्रियालाई नायकत्वमा उभ्याएँ। यसरी नै मैले खोज्ने नारी चरित्र सामाजिक, सांस्कृतिक कारणले पछाडि परेका नारी नै हुने गर्छन् किनभने म त्यसलाई प्रकाशित गर्नु मेरो लेखकीय दायित्व सम्झन्छु। सकेसम्म म तिनलाई सशक्त रूपमा प्रस्तुत गर्ने कोसिस गर्छु।
आजको साहित्यले गाउँका समस्यालाई कत्तिको सम्बोधन गरेको छ? कतै अबको साहित्य लेखनको विषय कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ पनि यहीँ पो छ कि?
–गाउँको साहित्य लेख्नलाई गाउँ बुझेको लेखक चाहिन्छ। हुन त आज गाउँकै मानिसहरू धेरै छन् सहरमा। त्यसैले गाउँका विषयहरू, समस्याहरू केही न केही आइरहेकै छन्। तर पछिल्लो समयमा विश्व परिवेशमै आएको व्यापक परिवर्तन र परम्परागत मूल्यमान्यताप्रति विज्ञानले गरेको हस्तक्षेपबाट गाउँको जीवनशैली र मानवीय व्यवहारहरू कसरी अघि बढिरहेका छन् र यसले दिने परिणामले के कस्तो फाइदा या समस्या भएको छ भन्ने विषयसम्मको चिन्तनमा पुग्नलाई त्यही परिवेशको स्थानीयताको ज्ञान हुनुपर्छ। त्यही जाति र समुदायमा पुग्नुपर्छ। टाढा बसेर कल्पना गर्नु र त्यही पुगेर यथार्थ जानेर लेख्नुमा धेरै अन्तर छ। त्यसैले तामाङ जातिको सांस्कृतिक उन्नयन र जातीय उत्थानका लागि साहित्य लेख्ने हो भने कुमारी लामा, विना थिङ, नेत्र तामाङ, फूलमान बल वा रावतहरू नै चाहिन्छ, म नारायण ढकालले लेख्न थालेँ भने शैली त मेरो होला, कथ्यमा आवश्यक न्याय गर्न सक्दिन। त्यसैले गाउँको साहित्य र सहरको साहित्यबीच अन्तर ल्याउने कुरा भनेकै त्यहाँको जीवनशैली हो, अज्ञानता हो, परम्परा र संस्कृति हो, आर्थिक कुरा हो, सामाजिक चेतना हो। नीति र अवसर, वर्गीयता र विभेदका कारणहरू स्थानीय तहमै बुझेका लेखनले गाउँको साहित्यलाई न्यायिक सम्बोधन गर्न सक्छन्, यो केही त भएको छ तर अपूरो छ।