एजेन्सी– रिपब्लिकन पार्टीभित्र राष्ट्रपतिको प्रतिस्पर्धामा आयोवामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जितेका छन्। ट्रम्पले ९५ प्रतिशत मत ल्याएका छन्। ट्रम्पले आयोवामा चुनावपूर्व भनेका थिए, ‘चीन, मेक्सिको, क्यानाडा, जापान, दक्षिण कोरियालगायतसँग व्यापार सम्झौता भएका छन्। अमेरिकामा दशकौंको प्रतीक्षापछि किसान, उत्पादनक लगायत सबैका लागि असल दिन आएका छन्।’
अमेरिकामा राष्ट्रपतिको चुनावमा राजनीतिक दलबाट उम्मेदवार बन्न ५० वटै राज्यबाट प्रारम्भिक निर्वाचनमा विजयी हुन आवश्यक छ। प्रारम्भिक चुनावका विजेतालाई नै राष्ट्रपति पदका उम्मेदवार बनाइन्छ।
अमेरिकी डेमोक्यार्टिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी १५ जना प्रतिस्पर्धी रहेकोमा नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ। मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थक निराश भएका छन्। पार्टीले मतपत्रमार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच गरेर मात्र नतिजा सार्वजनिक गर्ने स्पष्ट गरेको छ।
पार्टीका अध्यक्ष ट्रोए प्राइसले कम्प्युटर प्रणाली ह्याक वा कुनै अवरोधका कारण नभई रिपोर्टिङमा मात्र समस्या देखिएको स्पष्ट पार। पार्टीले नतिजामा गडबडी नहोस् भन्नका लागि एक एक गरी मतपत्र गणना गर्न निर्देश दिएको छ। डेस मोइन्स काउन्टीका डेमोक्यार्टिक पार्टीका अध्यक्ष टम कर्टनीले पनि मोबाइल एपमा समस्या देखिएको भन्दै मतदाताले गुनासो गरेको बताए।
समस्याका बारेमा जानकारी गराए पनि पार्टीको केन्द्रीय कार्यालयले चित्तबुझ्दो जवाफ नदिएको गुनासो गरे। अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन बर्नी स्यान्डर्स, जो बाइडेन, पिट बुटिगीग समेतका वरिष्ठ नेताहरू आयोवाको प्रारम्भिक नतिजालाई व्यग्रताका साथ पर्खिरहेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीले डेमोक्यार्टिक पार्टीभित्र फेरि प्रारम्भिक चुनावमा धाँधली हुन लागेको भन्दै व्यंग्य गरेका छन्।