काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरीजको पहिलो खेलमा नेपाल र ओमानबिचको खेल जारी छ। ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा ५२ रन बनाउँदा दुई महत्वपूर्ण विकेट गुमाएको छ।
पहिलो विकेटका रुपमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल आउट १ रनमा आउट भएका थिए भने दोस्रो विकेटका रुपमा नेपालका भरपर्दा ब्याट्सम्यान पारस खड्का ३ रनमा आउट भएका थिए।
दयनीय अवस्थामा रहेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र शरद भेषवाकारले सम्हालिरहेका छन्। दीपेन्द्र व्यक्तिगत २४ रन तथा शरद व्यक्तिगत २१ रनमा खेलिरहेका छन्।
त्यसअघि पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको थियो। त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनायो।
ओमानको लागि मोहम्मद नादिमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६९ रन बनाए। उनले ९६ बलमा ५ चौका र २ छक्काको मद्धतमा ६९ रन बनाएका हुन्। त्यस्तै सन्दीप गौडले ३३ रन, नसिम खुसीले २८ रन बनाउँदा कप्तान जिशन मक्सुद २० रनमा एलबीडब्लुको धरापमा परेका थिए।
ओमानविरुद्ध शुरूमा नेपाली बलरहरु हाबी भए पनि ओमानले अन्तिमतिर सम्हालिएको प्रदर्शन गर्याे। नेपालको लागि आक्रामक बलिङ गरेका करण केशीले ९ ओभरमा ४७ रन दिँदै ४ विकेट लिए भने शुसन भारीले १० ओभरमा १४ रन दिँदै ३ विकेट लिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए।