एजेन्सी– चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट शुरु भएर हाल नेपालसहित विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसको नाममा हाल ह्याकरहरुले नक्कली ईमेल पठाइरहेका पाईएको छ।
जसअन्तर्गत ह्याकरहरुले ईमेल यूजरहरुलाई मालवेयर अट्याच गरिरहेका साइवर सेक्योरिटी फर्म आईबिएमएक्स फोर्स र कास्परस्कीले जानकारी दिएको हो। आईबिएमएक्स फोर्स र कास्परस्कीले कयौँ युजरहरुलाई ह्याकरहरुबाट केहि ईमेल आएको र त्यसमा मालवेयर अट्याच रहेको पाएका हुन्।
साथै यी ईमेलहरुमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायहरुको बारेमा पनि बताइएको छ। आउने दिनहरुमा ह्याकरहरुले यस प्रकार ईमेलहरु अरु ठुलो मात्रा पठाउने अनुमान गरेसँगै साइवर सेक्योरिटी फर्मले यूजरहरुलाई ईमेलमा अट्याच रहेको फाइल्सलाई डाउनलोड गर्ने कुरामा सावधानी अपनाउनु अनुरोध गरेको छ।
साथै यी फाइलहरुको माध्यमबाट पठाइएको भाइरसहरु तपाईँको कम्प्युटर सिस्टम र प्राइभेसीको लागी खतरा हुन सक्ने भएकोले सचेत रहन सेक्योरिटी फर्मले आग्रह गरेको छ।
कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको सङ्क्रमणका कारण उपचार गराइरहेका छन्। चीनको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका कारण विश्वका करिब दुई दर्जन मुलुक हाल प्रभावित छन्।