एजेन्सी– विश्वको सबैभन्दा ठूलो कलर आइडेन्टिफिकेसन सर्भिस प्रोभाइडर ट्रू कलरका प्रयोगकर्ताहरु २० करोड नाघेका छन्। कम्पनीले मंगलबार आफ्ना सक्रिय मासिक प्रयोगकर्ताहरुको संख्या २० करोड नाघेको जानकारी दिँदै नाफामा जानसकिने प्रमाणित भएको बताएको छ।
ट्रु कलर मोबाइल प्रयोगकर्ताको लागि परिचित एप हो। आफूले सेभ नगरेको नम्बरबाट फोन आएमा फोन उठाउनु पहिला ट्रू कलरमा हेरेर पहिचान गर्ने क्रम बढ्दो छ। ट्रु कलर विशेषतः प्रयोगकर्ताले अनुमति दिएका फोन नम्बरहरु सेयर गर्ने प्लेटफर्म हो।
यो स्वीडिस कम्पनीले यसैसाता आफ्नो मासिक सक्रिय प्रयोगकर्ता २० करोड नाघेको जनाएको हाे। यसका साथै, कम्पनीले पछिल्लो ४ महिनामा नाफा पनि कमाउन थालेको छ। कम्पनी नाफामा गएको यो पहिलो पटक हो। ट्रु कलरको आम्दानीको स्रोत विज्ञापन र प्रिमिटर प्रयोगकर्ताले बुझाउने शुल्क हो।