चितवन– पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढदेखि गोन्द्राङसम्मको सडकखण्डलाई विस्तार गरिने भएको छ। सो खण्डलाई बीचमा हरियाली सहितको ६ लेन बनाउन लागिएको हो।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीका अनुसार लामो दूरीमा चल्ने सवारीका लागि चार लेन र स्थानीय सवारीका लागि दुई लेन सहितको आकर्षक सडकको नक्साङ्कन गरिएको छ। बीचको तीन मिटरको डिभाइडरसहित ३९ मिटर फराकिलो कालोपत्र सडक बनाइनेछ।
बोलपत्र आह्वानको तयारीमा जुटेको उनले जानकारी दिए। बहुवर्षीय योजनाका रुपमा सडक निर्माणका लागि अर्थ मन्त्रालयले रु एक अर्ब ९८ करोड ७५ लाख स्वीकृत गरिसकेको छ। २ वर्ष वा २८ महिना कुनै एक समय राखेर बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ। भरतपुर महानगरप्रमुख रेनु दाहालले सो सडकलाई नमूना हरियाली सडकका रुपमा निर्माण गरिने जानकारी दिइन्।