मार्तडी– बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ। गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए।
घरका पाँच जना बिरामी परेका मध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले जानकारी दिए। ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिएका वडाध्यक्ष रोकायाले बताए। उनको अनुसार वडा नं १ को सिङ्गो गाउँ ज्वरोले प्रभावित बनेको छ।
स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको जनाए। अत्याधिक चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी परेका उनले जानकारी दिए। हिमाली गाउँपालिका–६ घुलाचौर ज्वरोले प्रभावित बनेको थियो। जिल्ला अस्पतालका चिकित्सक राजुराज जैसी सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए।