काठमाडौं - शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन खोजिएको भन्दै आफू त्यसको विरुद्धमा आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
गिरीले बि. एण्ड.सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको काण्ड बाहिर आईसक्दापनि सरकारले उनीमाथि कुनै छानबिन नगरेकोमा थापाको गुनासो छ। उनले गिरीविरुद्ध आजकै दिन अर्थात माघ २२ गते अनशन बस्छु भनेर यसअघि रिपोर्टर्स क्ल्ब नेपालमा पत्रकार सम्मेलन गर्दै अनशन बस्ने घोषणा गरेका थिए। उनले आजबाट सुरु गर्ने अनशन आउने फागुन ३ गते बस्नेगरि पर धकलेको जानकारी गराए।
घुस काण्डबारे अहिले संसदमा पनि कुरा उठिरहेकोले र आफ्नो आन्दोलनप्रति व्यापक जनसमर्थन जुटाउने उद्देश्यले आफूले आज बस्ने भनिएको अनशनको कार्यक्रमलाई आगामी फागुन ३ गतेलाई सारेको जानकारी दिए। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूमाथि पछिल्लो समय ‘सुरक्षा–थ्रेट’ पनि बढेको सुनाए। उनले भने,‘म माथि सुरक्षा थ्रेट बढेको छ, यसको हामी संगठित रुपमा प्रतिकार गर्ने तयारीमा जुटेका छौं।’
उनले आयोगका उपाध्यक्ष गिरीले केही भिजिलान्ते र कुण्डले–मुण्डले पालेको भनेर गम्भिर आरोप समेत लगाए। उनले भने,‘हामी पटक पटक आयोगका कार्यालय ज्ञापनपत्र बुझाउनका लागि गयौं। तर, गिरीले गुण्डा र भिजिलान्ते लगाएर हामीलाई कार्यालय जानै दिएनन्।’ उनले छिट्टै संघर्षका कार्यक्रम पनि तयार गर्नुपर्ने भएकोले आजको अनशनलाई १० दिनपछि धकेलेको स्पष्ट पारे।
उनले आफूलाई प्रसाईको मान्छे भनेर पनि आरोप लगाउने गरिएकोमा गुनासो पोखे। उनले भने,‘प्रसाईसँग मेरो कुनै व्यक्तिगत चिनजान छैन्। उहाँसँग सम्पर्क पनि छैन्।’ उनले दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउने काम भएको र घुस काण्डमा मुछिएका गिरीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाए।
उनले भने,‘सम्पूर्ण घट्नामा म संलग्न छु। हिम्मत भए मलाई पक्राउ गरेर देखाउ।’ उनले प्रहरी प्रशासनले खोजिरहेका दुर्गा प्रसाईलाई पनि सम्पर्कमा आउन आग्रह गरे। ‘यो प्रकरणमा दुवैमाथि छानबिन हुनुपर्छ। हामी दुर्गा प्रसालाई केही पनि हुन दिन्नौं। म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु।’ जायज माग राखेर आन्दोलनका कार्यक्रम अघि बढाउँदा आफूमाथि गुण्डागर्दीको आरोप लगाउने काम भएको पनि उनले गुनासो पोखे।
उनले भने,‘मलाई कहिले मार्सी चामलको झोले भनिन्छ, मलाई विभिन्न आरोप लाग्दै आएका छन्। कहिले योगेश भट्टराईको गुण्डा भनियो, ती सबै आरोपमा सत्यता छैनन्।’ उनले आयोगका उपाध्यक्ष गिरीले घुस मागेको कारण आफूहरुले राजीनामा मागेको स्पष्ट पारे। उनले भने,‘यो प्रकरणमा छानबिन होस्। यति छानबिन गर भन्दा उहाँले उल्टै जिल्ला प्रशासन कार्यालयलाई कारबाही गर भनेका छन्।
यसका लागि म पछाडि हट्दिन्। म माथि अभद्र मुद्दा लगाउँछु भनिएको छ, लगाए हुन्छ। गिरीलाई भन्न चाहन्छु तपाई पनि कानूनी दायरामा आउनुहोस्।’