एजेन्सी– दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको निर्णायक गोलमा टोटेनहम हस्टपर एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको छ। प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्पटनलाई रिप्ले खेलमा ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो।
पहिलो खेलमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मौउरा र सानले गोल गर्दा एक गोल उपहार पाएको थियो। साउथह्याम्पटनका सेन लङ र ड्यानी इंग्सले गोल गरे।
खेलको १२औं मिनेटमा ज्याक स्टेफेन्सको आत्मघाती गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो। टांगे एनडोम्बेलेको प्रहारलाई रोक्न खोज्दा स्टेफेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। ३४औं मिनेटमा सेन लङले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो।
७२औं मिनेटमा नाथन रेडमन्डको पासमा ड्यानी इंग्सले गोल गरेपछि साउथह्याम्पटनले खेलमा २–१ को अग्रता बनाएको थियो। ७८औं मिनेटमा लुकास मौउराले डेले अलीको पासमा गोल गरेपछि खेल २–२ गोलको रोमाञ्चक बराबरीको अवस्थामा पुगेको थियो। खेल सकिन ३ मिनेट बाँकी रहँदा ह्युङ मिन सनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई ३–२ को जित दिलाए।
डेली अलीको पासमा बल बढाउन खोज्दा सनलाई पेनाल्टी बक्समा गोलरक्षक एनगस गनले लडाएपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सनले सदुपयोग गरे। अब टोटेनहमले प्रि–क्वाटरफाइनलमा नर्विच सिटीको सामना गर्नेछ। नर्विचले बर्नलीलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो।
प्रि–क्वाटरफाइनल
चेल्सीविरुद्ध लिभरपुल
डर्वी्विरुद्ध म्यानचेस्टर युनाइटेड
लेस्टर सिटीविरुद्ध बर्मिङघम
पोर्ट्समाउथविरुद्ध आर्सनल
रिडिङविरुद्ध सेफिल्ड युनाइटेड
सेफिल्ड वेनस्डेविरुद्ध म्यानचेस्टर सिटी
टोटेनहमविरुद्ध नर्विच सिटी
वेस्टब्रोमविरुद्ध न्यु क्यासल