काठमाडौं– इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा मुख्य निर्णायकका रुपमा नेपाल आउन लागेका बलिउड निर्देशक प्रकाश झाले फिल्म निर्देशन सम्बन्धी प्रशिक्षण दिने भएका छन्। आयोजक निफका अनुसार भारतमा ७ वटा राष्ट्रिय अवार्ड जीतीसकेका निर्देशक झाले फागुन ३ गते प्रशिक्षण दिने भएका हुन्।
झा लेखक, निर्माता तथा निर्देशकका रुपमा पनि परिचित छन्। यतिबेला फिल्मको शूटिङमा व्यस्त झा नेपाल आउने तयारीमा रहेको किम्फले जनाएको छ। झाले निर्देशन गरेका ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ लगायतका फिल्म चर्चित छन्।
फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा प्रकाश झासँगै हलिउडका निर्माता, लेखकले पनि कक्षा दिनेछन्। ५ दिनसम्म चल्ने फेस्टिभलमा नीर शाह निर्दे्शित फिल्म बासुदेव प्रदर्शन गरिनेछ। साथै फिल्म हेरेपछि छलफल कार्यक्रम पनि राखिनेछ। नीर शाहसँगै लेखक ध्रुवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्यायले छलफलमा सहभागिता जनाउनेछन्।
आयोजकका अनुसार अभिनेता राजेश हमालले पनि आफ्नो फिल्मी यात्राका आरोह अवरोहका बारेमा सुनाउनेछन्। फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन्। जसमा १० अन्तर्रा्ष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म प्रस्तुत गरिनेछन्।