एजेन्सी– पोल्यान्डका कप्तान तथा फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिख डिएफवी पोकल (जर्मन कप) को क्वाटरफाइनलमा पुग्न सफल भएको छ। घरेलु मैदानमा बायर्नले होफेनहाइनलाई ४–३ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो।
बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा थोमस मुलरले गोल गर्दा एक गोल उपहार पाएको थियो। होफेनहाइनका मुनास डाबुरले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो। एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा आठौं मिनेटमा जेरोमी बोएटिङको आत्मघाती गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो। १३औं मिनेटमा बेन्जामिन हुब्नरले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो।
२०औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए। ३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिला हाफमा ३–१ को अग्रता बनायो। ८०औं मिनेटमा जोसवा किम्मिचको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि बायर्नले खेलमा ४–१ को अग्रता बनायो। त्यसपछि होफेनहाइनले लगातार दुई गोल गरेपनि हार टार्न सकेन।
८२औं मिनेटमा मुनास डाबुरले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मुनास डाबुरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए। त्यसपछि थप गाेल निस्कन नसक्दा बायर्न ४–३ ले विजयी हुदै क्वाटरफाइन्लमा पुग्न सफल भयो।