काठमाडौं – उज्यालोमा टेलिभिजन हेर्दा त्यति मजा हुँदैन भनेर राती भए बत्ती निभाएर र दिउँसो भए झ्याल ढोका बन्द गरेर अँध्यारोमा टेलिभिजन हेर्ने गर्छन्। यदि अँध्यारोमा टेलिभिजन हेर्ने गर्नुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ।
अँध्यारो कोठामा टेलिभिजन हेर्नु भनेकोे आँखालाई चाँडै नै बिगार्नु हो। अँध्यारोमा टेलिभिजन हेर्दा चम्किलो प्रकाशको स्रोत टेलिभिजनको पर्दा मात्र हुन्छ। अँध्यारोको कारणले आँखाभित्रको आइरिस मांशपेशीले आँखाको नानीलाई ठूलो पारेको हुन्छ।
टेलिभिजनको पर्दाबाट आएको चम्किलो प्रकाश धेरै मात्रामा आँखाको नानीबाट छिरेर रेटिनासम्म पुग्दछ। अँध्यारोमा आँखाको नानीलाई आइरिस मांशपेशीले ठूलो र उज्यालोमा सानो पारेको हुन्छ।
एक ठाउँमा मात्र अत्यन्त बढी चम्किलो प्रकाशको स्रोत छ, भने त्यसलाई हेर्न पुग्दा आँखाको नानी तत्कालै सानो हुन नसक्ने भएकोले प्रकाशको किरण आँखाले धान्न सक्ने भन्दा बढी मात्रामा आँखाको नानीमा छिरेर गई रेटिनामा पुग्दछ। आँखामा बढी बल पुग्न जान्छ र यस्तो घटना वारम्बार हुँदै जाँदा आँखामा आघात पुग्न गई आँखा बिग्रन पुग्छ।