बाँके – जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको छ। बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि जिल्ला समन्वय समिति बाँकेले सो निर्णग गरेको हो।
समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले उक्त रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको बताएका छन्। ‘पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर कठोर निर्णय गर्नुप¥यो’, उनले भने। शहरमा बसोबास गर्ने शिक्षित समुदाय नै औषधि सेवन गर्न नमान्ने गरेकाले कडा निर्णय गर्नुपरेको संयोजक श्रीवास्तवले बताएका छन्।
त्यसले गर्दा बाँकेमा हात्तीपाइले रोग निवारण अभियान अपेक्षाकृतरुपमा सफल हुन सकेको छैन। बाँकेको ग्रामीणभन्दा उपमहानगरभित्र औषधि सेवन गर्ने न्यून छन्। ‘सामान्य मात्रै होइन, शिक्षितले नै औषधि खान मान्दैनन’, जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले भने, ‘यसले अभियान प्रभावित भइरहेको छ।’ कोहलपुर र उपमहानगरपालिकामा हात्तीपाइलेको जोखिम उच्च छ।
नवौँ पटक खुवाउँदा नियन्त्रण नभएपछि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान बाँकेमा दशौँ पटक आगामी शनिबार खुवाइँदैछ। बाँकेका चार लाख व्यक्तिलाई औषधि खुवाइनेछ। उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले शहरका शिक्षित व्यक्तिले औषधि सेवन नगर्दा रोग नियन्त्रणमा चुनौती देखिएकोले अभियान सफल बनाउन स्थानीय तह कडाइसाथ लागेको बताएका छन्।
डा राणाले औषधि खुवाउने दर बढाउने वडालाई पुरस्कृत गर्दै बजेट बढाउने घोषणा गरेको छ। रोग निर्मूल भइसक्नुपर्नेमा अवस्था डरलाग्दो देखिएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले बताएका छन्। प्रत्येक व्यक्तिसम्म औषधि नपुग्नु र विभिन्न डरत्रासका कारण सबैले औषधि प्रयोग नगर्नुले उपलब्धि हासिलमा समस्या देखिएको हो।
औषधिको प्रयोगबारे फैलिएको गलत सूचना प्रमुख चुनौती भएको स्वास्थ्य अधिकृत शाहीले बताएका छन्। यो औषधि खाँदा बिरामी हुने, वाकवाकी लाग्ने भन्ने गलत सूचना फैलिएकाले औषधि खान नमानेको उनको भनाइ थियो। विसं २०६७ देखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ। शुरुआतमा बाँकेमा ९१ प्रतिशतले औषधि खाएका थिए। (रासस)