काठमाडौं– विश्वकप क्रिकेट लिग–२ को कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा अमेरिकन टीमले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो।
उसका लागि इयान हल्यान्डले राम्रो ब्याटिङ गरे। उनले ७८ बलमा ७ चौकाको मद्दतमा ६५ रनको योगदान दिए। यस्तै अक्षय होमराजले ४४, मोनाक पटेलले १९, तमिल पटेलले १६, जेभियर मार्शलले १३, सौरभ नेत्रवलकर अविजित १४, आरोन जोन्सले १२ र रस्टी थेरनले १० रन बनाए। बलिङमा ओमान टीमका मोहम्मद नदीमले ३, जीशान मक्सूद, बिलाल खान, अकिब इलियासले २–२ र कलीमुल्लाहले एक विकेट लिए।
ओमान र अमेरिका अन्तर्रा्ष्ट्रिय एकदिवसीय खेलमा पहिलो पटक एकअर्का्विरुद्ध खेलिरहेका हुन्। लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ। उसले ८ खेलबाट १२ अङ्क बनाएको छ। ओमान सात खेलमा १० अङ्क बनाउँदै दोस्रो स्थानमा छ। यो खेलमा ओमानले अमेरिकालाई हराएमा अङ्क बराबरी गर्ने मौका पाउने ।
बुधबार भएको खेलमा नेपाललाई १८ रनले हराएको ओमानलाई अमेरिकासँगको खेलमा केही सहज महसुस हुनेछ। नेपाल र ओमानको खेल राम्रोसँग नियाल्ने मौका पाएको अमेरिकाले भने ओमानको कमजोरी र बलियो पक्ष राम्रोसँग केलाउने मौका पाएको छ। त्यसै अनुरुप अमेरिकाले तयारी पनि गरेको छ।
८ खेलबाट ६ जित हात पारेको अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ। जारी प्रतियोगितामा पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको छ। नेपालले आफ्नो दोस्रो म्याच शनिबार अमेरिकाविरुद्ध खेल्ने छ।