एजेन्सी – हिरो इलेक्ट्रीकले आफ्नो नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले अटो एक्स्पो २०२० मा सबैभन्दा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल एइ–४७ सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार ३.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याकले पावर मोडमा ८५ किलोमिटर तथा इको मोडमा १ सय ६० किलोमिटर रेन्ज प्रदान गर्ने छ। यसका साथै यो व्याट्री फुलचार्ज हुन चार घन्टा मात्र लाग्ने कम्पनीको दावी रहेको छ।
यो मोटरसाइकलले एक पटकको फुल चार्जमा १ सय ६० किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसले सय किलोमिटर प्रतिघन्टाको रफ्तार भेटाउन सक्छ। यसमा ६ किलोवाटको मोटर रहेको छ। जसले मात्र ९ सेकेन्डमा नै ० देखि ६० किलोमिटरको स्पीड भेट्न सक्ने कम्पनीले दावी गरेको छ।
यसको दुबै ह्वीलमा डिस्क ब्रेक रहेको छ। फ्रन्टमा २ सय ९० एमएम तथा रियरमा २ सय १५ एमएमको डिस्क ब्रेक रहेको छ भने, अगाडि टेलिस्कोपिक तथा रियरमा मोनोशक दिइएको छ। यसका साथै यो मोटरसाइकलमा क्रुज कन्ट्रोल फिचर समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
डिजिटल कन्सोल, किलेस सिस्टम, मोवाइल चार्जर पोर्ट, रिर्भस गियर जस्ता फिचरले यसलाई विशेष बनाएको छ। साथै मोवाइल एपमार्फत स्मार्ट कनेक्ट सिस्टम समेत रहेको याे मोटरसाइकल यो बर्षको अन्त्यमा बजारमा उपलब्ध गराउने हुने कम्पनीले जनाएको छ। याे प्रिमियम इलेक्ट्रीक मोटरसाइकलको मूल्य १ लाख ५ हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ।