काठमाडौं – कलंकीको अण्डरपास सडकमा गएराती साढे १२ बजेतिर मोटरसाइकललाई ठक्कर दिने टिपर नख्खुडोलमा भेटिएको छ। नख्खु खोलाको पुल छेऊ चन्द्रसूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा टिपर भेटिएको हो।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले टिपरलाई नियन्त्रणमा लिइएको बताए। उनको अनुसार सीसी टीभी फुटेज र्र याडम चेकजाँचका क्रममा सम्भावित क्षेत्रमा खोजतलास गर्दा बा४ख ८५७९ नम्बरको टिपर नियन्त्रणमा लिएको हो। उनले सवारीधनी प्रहरीको सम्पर्कमा आइसकेको बताए। यद्यपि, चालक भने फरार छन्। उनको पनि खोजी भइरहेको बोगटीले जनाए।
कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–रि०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बल्खुबाट आएको मोटरसाइकलाई ठक्कर दिँदा आगजनी पनि भएको थियो। मृतकको शरीरसमेत जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन्। टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।