काठमाडाैं — शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो।
मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा पाँच गोल थप्यो। खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए। रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए। त्यसैगरी खेलको ५४औँ मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए। उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका अर्का खेलाडी विशाल राई (ए) ले गोल गरे। उनले खेलको ५९औँ मिनेटमा गोल गरेका थिए।
त्यसपछि खेलको ७७औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे। त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्पो। मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे। त्यस्तै खेलको ८७औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए। यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क छ।