एजेन्सी– शहरी महिलाहरु अग्ला हिलयुक्त जुत्ता–चप्पल लगाएर आफूलाई ‘फेसनेबल’ देखाउन खोज्छन्। त्यस्तै कम उचाइ भएका युवतीहरू पनि आफूलाई अग्लो देखाउन हिल जुत्ता लगाउँछन्।
फेसनेवल देखाउन र आत्मसन्तुष्टिका लागि प्रयोग गरिने यस्ता जुत्ता–चप्पलले स्वास्थ्यमा गम्भीर खालका समस्या निम्त्याउछ भने, अग्ला हिलयुक्त जुत्ताले तत्कालीन रूपमा दुर्घटनाको खतरा बढाउँछ भने दीर्घकालीन रूपमा शरीरमा विभिन्न किसिमका समस्या सिर्जना गराउँछ।
हिल लगाउँदा शरीरको सन्तुलन मिल्दैन, अग्ला हिल लगाएर बाटोमा हिँड्दा दुर्घटनाको डर हुन्छ। नमिलेको, ओह्रालो बाटोमा हिल सजिलैसँग अड्याउन गाह्रो हुने समस्या हुन्छ। यस्तो अवस्थामा लडेर ठूला चोटपटक लाग्ने तथा हात खुट्टा भाँचिने जस्ता खतरा हुन्छ।
लामो समयसम्म अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टामा समस्या देखिन्छ। यसले खुट्टाको स्वरूप नै बिगार्ने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा नसामा समस्या आउनेजस्ता समस्या देखिन्छन्। त्यसकारण खुट्टाको अगाडिको नसा र कुर्कुच्चा सुन्निने समस्यासमेत हुन्छ।
अग्लो हिल लगाउँदा कालान्तरमा घुँडा र मेरुदण्डमा नकारात्मक असर पार्छ भने, घुँडामा अतिरिक्त दबाब परेर अर्थाइटिस, ब्याक पेन, मांसपेशीमा दुखाइजस्ता समस्या देखिन्छन्। त्यस्तै कम्मरको नसामा समस्या देखिनुका साथै साइटिका नामक रोग लाग्ने सम्भावना हुन्छ।