काठमाडौं – डिजिटल सामग्रीहरु मानव जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर , टेलिभिजन जस्ता डिजिटल सामानको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन।
पछिल्लो एक दशकमा नेपालीमाझ मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले हाम्रो दैनिक जीवन सहज गराए तापनि लामो समयसम्मको प्रयोगले आँखा र दृष्टिामा गम्भीर असर गर्ने गरेको पाइन्छ। लामो समयसम्म कम्प्युटर र मोबाइलमा काम गर्ने गर्दा मानिसहरुमा आँखामा ‘भिजन सिन्ड्रोम’ को समस्या बढ्दो क्रममा देखिने गरेको छ।
के हो कम्प्युटर भिजन सिन्ड्रोम ?
मेडिकल भाषामा ‘डिजिटल आई स्ट्रेन’ पनि भनिन्छ्। यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ। कम्प्युटरको अत्यधिक प्रयोगले आँखामा आउने समस्यालाई “कम्प्युटर भिजन सिन्ड्रोम“ भनिन्छ।
कम्प्युटर भिजन सिन्ड्रोमका लक्षणहरुः
१. आँखा थाकेको महसुस हुनु,
२. टाउको दुख्नु,
३. आँखा सुक्खा हुनु, आँसु बग्नु,
४. आँखा चिलाउनु, बिझाउनु, पोल्नु,
५. घाँटी, काँध तथा ढाड दुख्नु,
६. धमिलो देखिने र कहिलेकाही एक वस्तुलाई दुई वटा देखिनु,
७. कार्य क्षमता तथा कामप्रती रुची घटेको महशुश हुनु,
कसरी बच्ने कम्प्युटर भिजन सिन्ड्रोमबाट?
१. २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने।
२. चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको असरबाट पनि जोगिइन्छ।
३. कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ।
काम गर्ने वातावरण अनुकूल र सहज बनाउने तरिकाहरुः
१. कोठामा उज्यालोको प्रयोग गर्ने,
२. कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफूअनुकूल बनाउने,
३. आँखा र स्क्रिनबीचको दूरी कम्तीमा २५ इन्च राख्ने,
४. काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
५. कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा तलै राख्ने,
६. टेवल र कुर्सीको उचाइ आफुलाई सहजहुने गरी मिलाउने ,