काठमाडौं– त्रिभुवन आर्मी क्लब अर्को जित निकाल्दै पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ। अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो।
आजै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मछिन्द्र केहि समयका लागि शीर्षस्थानमा उक्लेको थियो। अन्तिम २ चरणका खेल बाँकी रहँदा आर्मी र मछिन्द्रबीच एक अंकको अन्तर रहेको छ।
१२ औं चरणको खेलमा पनि दुवै टोलीले सफलता हसिल गरेको खण्डमा यी दुई टोलीबीचको अन्तिम खेलले लिग उपाधिको छिनोफानो गर्ने छ। आर्मीको २६ र मछिन्द्रको २५ अंक छ। एक खेल कम खेलेको तेस्रो स्थानको नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको १९ अंक छ।
पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै आर्मीले जित हासिल गरेको हो। आर्मीको जितमा फेरि एकपटक मिडफिल्डर सन्तोष तामाङ नायक बने। सन्तोषले १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई अघि बढाएका थिए।
तर, ३७ औं मिनेटमा आशिष लामाको गोलबाट एपिएफले खेलमा बराबरी गरेको थियो। सन्तोषले ४२ औं मिनेटमा फ्रिकिकमार्फत दशर्निय गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। त्यहि अग्रतालाई जोगाउँदै आर्मीले महत्वपूर्ण जित हासिल गरेको छ ।