जाजारकोट– बालमृत्युदर तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले विशेष लगानी गरी काम थालेको छ। गर्भवती भएदेखि एक हजार दिनसम्मका महिला तथा नाबालकलाई यो कार्यक्रममा समेट्नका लागि नगरले यो कार्यक्रम शुरु गरेको हो।
नगरभित्रका १३ वटा वडामा लागू भएको यो कार्यक्रमबाट प्रतिवडाबाट ३५ जना गर्भवती महिलालाई सुविधा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन्। सरकारले दिँदै आएको सुत्केरीलाई यातायात खर्चमा नगरले रु एक हजार थपेर दिने गरेको उनले बताएका छन् ।
उनको अनुसार प्रत्येक गर्भवती महिलालाई घ्यू, तेल र कुखुरासमेत उपलब्ध गराएको छ। कुखुरा उपलब्ध गराएसँगै औषधिसमेत दिइएको पोषण सम्पर्क व्यक्ति किरण थापाले जानकारी दिएका छन्। त्यस्तै करेसाबारीमा ताजा तरकारी उत्पादन गर्नका लागि बीउका साथै तालीम दिइएको उनले जानकारी दिएका छन्। नियमित गर्भजाँचका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई मात्र यो सुविधा उपलब्ध गराएको छ।
नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन गरी यस्ता गतिविधि सञ्चालन गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिएका छन्। ‘घरघरमा झण्डा, गर्भवतीलाई अण्डा’ भन्ने नारासहित नगरले अर्को कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। गर्भवती भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवासुविधा दिन शुरु गरिएको प्रमुख रावलले जानकारी दिएका छन्। रासस