काठमाडौं– देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ। देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ।
समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५÷७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ।
हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न। यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ।
चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।