दमौली – गाउँसेवा कोषले आफ्ना संस्थापक अध्यक्ष भीमबहादुर अधिकारीलाई गुमाउनुपर्दा देशले नै इमान्दार समाजसेवी गुमाउनु परेको जनाएको छ। संस्थापक अध्यक्ष एवं समाजसेवी अधिकारीको चिनी रोगबाट बिहीबार ९० वर्षको उमेरमा काठमाडौमा निधन भएको थियो।
उनी तनहुँको भानु नगरपालिका–१२ मिर्लुङ निवासी हुन्। कोषद्वारा बिहीबार दमौलीमा आयोजित शोकसभामा स्व अधिकारीको व्यक्तित्व र योगदानका बारेमा चर्चा गरियो। कोषका उपाध्यक्ष ताराप्रसाद श्रेष्ठको अध्यक्षतामा शोकसभा भएको थियो। अधिकारीले विसं २०३३ मा सो संस्था स्थापना गरेका छन्।
अर्थमन्त्रालयको उपसचिव पदबाट अवकाश पाएपछि उनले लामो समय बेरुजु फछ्र्योट अनुगमन तथा मूल्याङ्कन समितिको सदस्य सचिव भएर काम गरेका छन्। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा ल्याएको सामाजिक सुरक्षाभत्ता कार्यक्रममा भीमबहादुर अधिकारीको सहयोग र सल्लाह रहेको बताएका छन्।
कोषले हरेक वर्ष जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा स्वरोजगारमा उत्कृष्ट काम गरिरहेका व्यवसायीलाईे पुरस्कृत समेत गर्दै आएको छ। रासस