एजेन्सी – क्याटलान क्लब बार्सिलोना कोपा डेल रे अन्तर्गत बिहीबार भएको क्वाटरफाइनल खेलमा एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित भएको छ।
बिल्बाओका लागि दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा इनाकी विलियम्सले गरेको गोल नै निर्णायक सावित भयो। बार्सिलोनाले खेलको सुरुवातदेखि नै घरेलु टोली बिल्बाओमाथि दबाब कायम गरेपनि गोल गर्न सकेको थिएन। कप्तान लिओनेल मेस्सी र अन्सु फातीको जोडीले सुरुवाती ३० मिनेटमा केहि अवसर सदुपयोग गर्न सकेनन्।
पहिलो हाफमा नै बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले गल्ति गर्दा बिल्बाओका ड्यानी गार्सियाले त्यसको फाइदा उठाउन चुकेका थिए। दोस्रो हाफमा बार्सिलोनाले खेलाडी परिवर्तन गर्दै केहि आक्रमक रणनीति बुनेको थियो। वैकल्पिक खेलाडी एन्टोइन ग्रिज्मनले सर्जी रोबर्टोको पासमा गरेको प्रयासलाई घरेलु टोलीका गोलरक्षक उनाइ सिमोनले उत्कृष्ट बचाउ गरे।
खेलको अन्तिम समयतिर मेस्सीले आर्थरको पासमा गरेको प्रहारलाई गोलरक्षक सिमोनले बचाउँदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो। तुलनात्मक रुपमा कम अवसर सिर्जना गरेको बिल्बाओले इन्ज्युरी समयमा अग्रता लिँदै खेल आफ्नो पक्षमा पार्यो। इबाई गोमेजको क्रसमा विलियम्सको हेडरले टेर स्टेगनलाई बिट गरेपछि बार्सिलोनाको यात्रामा पूर्णविराम लागेको थियो।