काठमाडौं – चलचित्र नाई नभन्नु ल ४ बाट सिने नगरीमा आफ्नो अभिनयको यात्रा आरम्भ गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले प्रेमी डा.उदीप श्रेष्ठसँग विवाह गर्ने भएकी छन्। उदिप र आँचल केही समय अगाडिदेखि प्रेममा छन्। आगामी फागुनमा नै उनीहरुको विवाह हुने बताइए पनी मिति भने तय भएको छैन्।
आँचलका अनुसार चिना हेराउँदा केही कुरा नमिलेकाले विवाहको मिति टुंगो लागेको छैन। उनले थपीन् ‘फागुन अन्तिम सातासम्म हुने कुरा छ।’ उनले फागुनको अन्तिम साता चाहिँ पक्का भएको तर गते तय गर्न बाँकी रहेको बताईन्।
आँचलसँग उनकाे परिवारले इन्गेजमेन्ट मिति पनि गोप्य राखेको छ। उनलाई परिवारले सरप्राइज दिने कुरा गरेकाे उनले बताईन्। आँचल भन्छिन् ‘उदीपजी र मेरो घरमा भने सल्लाह भइसकेको छ। उहाँहरुले मिति पनि पक्का गरिसक्नु भएको होला। तर, मलाई भन्नुभएको छैन। सरप्राइज दिने भन्दै मिति नसुनाएकाे आँचल बताउँछिन्।
उदीपको परिवार पनि आँचललाई भित्र्याउन उत्सुक छन्। समय –समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका छन्।
‘चलचित्र क्षेत्रबाट टाढिन्नँ’
धेरैलाई प्रश्न छ, ‘विवाहपछि पनि आँचलले चलचित्रमा काम गर्लिन् ?’ तर आँचल भने आफू चलचित्र क्षेत्रबाट टाढा नहुने बताउँछिन्। ‘पहिला पहिला महिलाहरुले विवाह गरेपछि परिवारमा समय दिने, भान्सामा काम गर्ने भन्ने थियो। अहिले महिलाहरु बाहिर आउन थालिसक्नु भएको छ। त्यसैले म त्यहाँ सीमित भएर बस्न पर्दैन। चलचित्र क्षेत्रमा काम गरिनै रहने छु।’