एजेन्सी – तेलुगु फिल्मका स्टार विजयमाथि कर छलीको आरोप लागेको छ। उनकाे घरमा इनकम ट्याक्सका अधिकारीले छापा मारेर ६५ करोड भारु जफत गरेका छन्। विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट दुई अलग–अलग ठाउँबाट रकम जफत गरिएको हो। यसमा ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको हो।
इनकम ट्याक्स डिपार्टमेन्टले एजीएस इन्टरटेनमेन्ट, एजीएस सिनेमाज, एजीएस ग्रुपमाथि निगरानी गर्दै अभिनेता विजय र लगानीकर्ता अन्बु छेजियानको घरमा समेत छापा मारेको हो। भारतीय मिडियाका अनुसार उक्त रेड एजीएस ग्रुपलाई टार्गेट गरेर २० वटाभन्दा बढी स्थानमा एकसाथ हानिएको थियो। रिपोर्टसले विजयसँग सोधपुछ चलिरहेको जनाएको छ।
एजीएस सिनेमाजलाई कर छलीको आरोप लागेको छ। यो ब्यानरले विजयलाई लिएर फिल्म ‘बिजिल’ बनाएको थियो। यो फिल्मले विश्वभरबाट ३ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो। कर अधिकृतले फिल्मको कमाइबाट कर छली गरेको आरोप लगाएका छन्। हालै तमिल नाडुमा एक फिल्मको छायांकनमा व्यस्त रहेका विजयले छापा मारेपछि फिल्मको छायांकन बीचमै छोड्नुपरेको छ।