सुरुङगा– मेची आँखा अस्पताल बिर्तामोडले रिच प्रोजेक्टमार्फत झापाका एक लाख २७ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ। अबिर्स अन्तर्रा्ष्ट्रिय संस्थाको साझेदारी र नेपाल नेत्र ज्योति सङ्घको सहकार्यमा मेची आँखा अस्पतालले जिल्लाका २६१ संस्थागत र १११ सामुदायिक विद्यालयका एक लाख २७ हजार ६७५ विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको हो। आँखा जाँच गरिएका विद्यार्थीमध्ये तीन हजार ५९६ लाई अस्पतालले निःशुल्क चस्मासमेत वितरण गरेको छ।
त्यस्तै २६ विद्यार्थीको निःशुल्क शल्यक्रिया गरिएको र एक हजार ३१६ लाई औषधि वितरण गरिएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले जानकारी दिएका छन्। अस्पतालले सन् २०१८ बाट छ वर्षदेखि १८ वर्ष उमेर समूहका झापाका दुई लाख विद्यार्थीको निःशुल्क आँखा जाँच गर्ने लक्ष्यसहित अहिले जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीको निःशुल्क आँखा जाँच गरिरहेको छ। गत वर्ष १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मेची आँखा अस्पतालबाट सो कार्यक्रमको शुरुआत गरेको थियो।
नेपालका दुई जिल्ला झापा र सुनसरीमा पाइलट प्रोजेक्टका रुपमा रहेको यो कार्यक्रमले पहिलो र दोस्रो चरणसम्म आइपुग्दा लक्ष्य हासिल गर्न सफल भएको मेची आँखा अस्पताल बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले बताएका छन्। छ सय ७६ शिक्षकलाई अस्पतालले तालीम दिएर विद्यार्थीको आँखा जाँच कार्यक्रममा सहयोग पु¥याउन र सबै विद्यार्थीको आँखा जाँच गर्दै विद्यार्थीमा देखिने दृष्टिदोष, बालअन्धोपन र मोलियाबिन्दु रोगबाट मुक्त गराउन आग्रह गरिएको अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले जानकारी दिए।
अस्पतालमा आँखा जाँच कार्यक्रम हुँदा विद्यालय अनुपस्थित भएका विद्यार्थीको पुनः दोस्रो पटक हुने आँखा जाँच शिविरमा आँखा परीक्षण गरिने रिच पोजेक्ट कार्यक्रम संयोजक प्रशान्त श्रेष्ठले बताएका छन्। विसं २०५३ मा मेची आँखा अस्पताल सङ्घ र आइकेयर फाउण्डेशन नेदरल्याण्डको समन्वयमा खुलेको मेची आँखा अस्पतालमा उपचारका लागि नेपालका विभिन्न जिल्लाका सर्वसाधारण तथा भारत, भुटान र बङ्गलादेशका नागरिकसमेत आउने गरेका छन्।
यो अस्पतालमा सन् २०१९ मा मात्रै दुई लाख २९ हजार ८७२ आँखाका रोगीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ। आँखा जाँच गरिएका बिरामीमध्ये २९ हजार ७३१ को शल्यक्रिया गरिएको छ। (रासस)