एजेन्सी– अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा मुसलधारे पानी परेको छ। डढेलो प्रभावित पूर्वी तटीय क्षेत्रमा मुसलधारे पानी परेको हो।मुसलधारे पानी परेसँगै त्यस क्षेत्रको एक तिहाइ डढेलो निभेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले पूर्वी तटीय क्षेत्रमा एक तिहाइ डढेलो निभेको जनाएका छन्।पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको समाचार बीबीसीले सम्प्रेषण गरेको छ।
मुसलधारे पानीले डढेलो नियन्त्रणमा सघाउ पुग्ने भएता पनि तटीय क्षेत्रमा बाढी आउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना छ।
न्यू साउथ वेल्सको अधिकांश भूभागहरु पानी नपरेकै कारण डढेलोको चपेटामा परेको थियो। अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा १५ महिना यताकै ठूलो पानी परेको बताइएको छ।
मुसलधारे पानी परेकाले डढेलो नियन्त्रणमा सघाउ पुग्ने अधिकारीहरुको अनुमान छ। यस वर्षाले बाँकि रहेको डढेलो पनि नियन्त्रणमा आउने अधिकारीहरुले विश्वास लिएका छन्।
मुसलधारे पानीले अग्निनियन्त्रकहरुलाई खुसि बनाएको छ। वर्षाले लामो समय देखि डढेलोसँग लडिरहेका अग्निनियन्त्रकहरुलाई राहत र विश्राम मिल्ने विश्वास गरिएको छ।
“हामीले प्रार्थना गरिरहेको निरन्तर, स्थिर वर्षा यहि हो। हामीले धेरै समय देखि पानी परोस् भनेर प्रार्थना गरिरहेका थियौं।” एनएसडब्ल्यू रूरल फायर सर्भिस (एनएसडब्ल्यूआरएफएस) की प्रवक्ता एन्जेला बर्फर्डले भनिन्।