एजेन्सी– रोग रोकथाम र नियन्त्रणका लागि युरोपेली केन्द्रले ६ फेब्रुअरीमा प्रकाशन गरेको रिपोर्टअनुसार चीनबाहेक विश्वका अन्य २५ देशहरूमा कोरोना भाइरस संक्रमित फेला परेका छन्। संक्रमण हुनेमा चिनियाँबाहेक सबैभन्दा धेरै जापानी नागरिक रहेको रिपोर्टले देखाएको छ।
४५ जना जापानी नागरिकहरू संक्रमित रहेको केन्द्रद्धारा प्रकाशित रिपोटमा उल्लेख गरिएको छ। त्यसैगरी संक्रमितको सङ्ख्या उच्च रहेकोमा सिंगापुर दोस्रो स्थानमा रहेको छ, सिंगापुरका २८ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै थाइल्यान्डमा २५, दक्षिण कोरियामा २३, अष्ट्रेलियामा १४, अमेरिका, मलेशिया र जर्मनीमा समान १२, ताईवानमा ११, भियतनामा १०, फ्रान्समा ६, यूएई र क्यान्डामा समान ५, भारत र फिलिपिन्समा ३, इटाली, बेलायत र रसियामा २ र कम्बोडिया, फिनल्यान्ड, नेपाल, श्रीलंका, स्पेन, स्विडेन र बेल्जियममा समान १–१ जना कोरोना संक्रमित भेटिएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या चीनमा ६ सय ३७ पुगेको छ। ३१ हजार जनामा संक्रमण पुष्टि भइसकेको चीनमा थप २४ हजार सात सय २ जनामा संक्रमणको आशंका गरिएको छ। १ लाख ८६ हजार तीन सय ५४ जना प्रत्यक्ष स्वास्थ्य निगरानीमा रहेको चीनमा १ हजार १ सय ५३ जना कोरोना संक्रमितको सफल उपचार भइसकेको छ।