एजेन्सी– जम्मु–कश्मीरकी पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीकी छोरी इतिजाले कश्मीरका जनता आधारभुत आवश्यकताबाट वञ्चित हुनुका साथै आर्थिक तथा मानसिक संकटको सामना गर्दै आएको बताएकी छन्।
पछिल्लो ६ महिनायता प्रहरी हिरासतमा रहँदै आएकी मेहबुबालाई एउटा लामो चिठी लेख्दै यस्तो उल्लेख गरेकी हुन्। विना कुनै अभियोग मेहबुबालाई प्रहरीले नियन्त्रणमा लिँदै आएको हो। गत अगष्टदेखि नै उनकी छोरी इतिजाले मेहबुबाको ट्वीटर एकाउन्ट व्यवस्थापन गर्दै आएकी छन्।
‘उनी पक्राउ परेको र जेलमा परेको साता म कहिल्यै बिर्सन सक्दिनँ,’ इतिजाले उल्लेख गरेकी छन्। इतिजाले आफ्नी आमालाई टिफिन बक्सभित्र चिठी राखेर समेत पठाएको जनाएकी छन्। पछिल्ला दिनमा उनको आमासँग यसै गरी संवाद हुने गरेको पनि बताएकी छन्। पकाएको खानाभित्र चिठी पट्याएर पठाएको उनको भनाइ छ।
चिठीमै मेहबुबाले छोरीलाई चिठी पठाउने गरेको पनि उनले भनेकी छन्। इतिजाका अनुसार उनकी आमाले लेखेकी थिइन्, ‘मैले कुराकानी गर्न सामाजिक सञ्जाल प्रयोग गर्दिनँ भन्ने उनीहरुको बुझाइ छ। यदी कसैले थाहा पायो भने ममाथि अभियोग लाग्नेछ। तिमीलाई धेरै माया र सम्झना!’
टिफिनभित्र राखिएका चपाती (सुख्खा रोटी)को चेपमा चिठी पट्याएर पठाउने गरेको इतिजाले खुलासा गरेकी हुन्। मेहबुबा मुफ्ती सुरुमा चस्माशाही गेस्ट हाउसमा राखिएकी थिइन्। त्यसपछि उनलाई श्रीनगरको एमए रोडस्थित सरकारी भवनमा राखिएको छ। अत्याधिक चिसोका कारण उनलाई यहाँ सारिएको छोरी इतिजाको भनाइ छ।
कश्मीरमा मुफ्ती लगायत सयौं राजनीतिज्ञहरु प्रहरी नियन्त्रणमा छन्। भारत सरकारले गत वर्ष अगष्ट ५ मा कश्मीरको स्वायत्तता खारेज गरेसँगै कश्मीरमा केन्द्र सरकारले प्रत्यक्ष शासन गर्दै आएको छ।