चितवन – चितवनको रामपुरमा धुर्मुस– सुन्तली फाउण्डेसनले निर्माण शुरु गरेको बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन मेडिकल कलेज (सीएमसी)ले नगद रू १० लाख रुपैयाँ सहयोग गरेको छ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन आयोजित धनधान्याचल महोत्सवमा शुक्रबार मेडिकल कलेजका प्रमुख सञ्चालक प्रा.डा. हरिशचन्द्र न्यौपानेले १० लाख रकम प्रदान गरेका हुन्। साथै चितवन मेडिकल कलेजले धुर्मस सुन्तली फाउण्डेशनले गरेको डिजाइन अनुसार ५० लाख बराबरको मेडिकल सेन्टर भवन बनाइदिने भएको छ। प्रमुख सञ्चालक डा. न्यौपानेले क्रिकेट रंगशालामा आउने खेलाडी, आवासीय रुपमा प्रशिक्षण लिने खेलाडी तथा स्थानीय समुदायका बिरामीलाई समेत लक्षित गरी सिएमसी मेडिकल सेन्टर स्थापना गरिने बताए।
आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेबाट चलिरहेको धनधान्याचल महोत्सवमा अहिलेसम्म करिब ७ करोडभन्दा बढी रकम उठिसकेको छ। माघ २६ गतेसम्म चल्ने महायज्ञबाट ५० करोड उठाउने लक्ष्य आयोजकले लिएको छ।