काठमाडौँ, २७ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा एकता कार्यदलका सदस्य डा. वेदुराम भुसालले पार्टीको विधान परिमार्जनसम्बन्धी काम सकिएको बताएका छन्।
नेपाली पब्लिकसँगको कुराकानिमा डा. भुसालले भने, ‘नेकपाको तल्ला कमिटीहरूको एकता प्रक्रियाका बारेमा प्रतिवेदन तयार पार्नका लागि नेतृत्वले हामीलाई निर्देशन दिएको थियो, केही समय लगाएर हामीले कार्यप्रगति तयार पारेका छौँ, पछिल्लो समयमा कार्यदलले थप समय मागेको समाचार आएका छन्, खासमा त्यो होइन।
उनले भने, कार्यदललाई यति समय भनेर तोकिएको होइन,सचिवालय र नेतृत्वले कार्यदललाई निर्देशन दिएको हो, त्यहीअनुरूप हामीले पार्टीको विधान परिमार्जनका लागि प्रतिवेदनमा केही कुरा समेटेका छौँ, यसमा आवश्यक छलफल हुँदैछ।’
नेतृत्वले त अधुरो प्रतिवेदनसमेत माग्ने सङ्केत गरेको छ नि भनेर सोधिएको प्रश्नको उत्तरमा उनले भने, ‘त्यो कुरा हामीलाई थाहा छैन, नेतृत्वले हामीसँग आज भोलि नै माग्ने भनेको कार्यदलले तयार पारेको कार्यप्रगति हो, त्यो जति तयार गरिएको छ, त्यति बुझाउने हो, बाँकी कामका लागि आश्यक निर्देशन नेतृत्व र सचिवालयले दिनुपर्छ।’
कार्यदलले प्रतिवेदन बुझाउने हो कि नेतृत्वले माग्ने हो ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले भने, ‘दुवै हो, हामीले तयार पारेको कार्यप्रगति पार्टी नेतृत्वलाई बुझाउने हो, नेतृत्वले कार्यदलले गरेको काम कति पूरा भए? के भयो भनेर सोधिखोजी गर्ने हो, काम अझै बाँकी छन्, कार्यदलका लागि नेतृत्वले आवश्यक निर्देशन दिनुपर्छ।’
बेमौसमी भेनेजुएला प्रकरण
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बेमौसमी भेनेजुएला प्रकरणले दूरी बढाएको छ। ओलीले प्रचण्डलाई चिप्लिएको देख्नु र प्रचण्डले व्यक्तिभन्दा सचिवालय ठूलो हो भन्नुमा ठूलो कारण छ। ओली–प्रचण्डबीको जुहारीले नेकपाका कार्यकर्ताहरूमा शङ्का उब्जिएको छ।
प्रचण्डले एक सार्वजनिक कार्यक्रममा सरकारमाथि कडा रूपमा प्रस्तुत हुँदै यही कार्यशैली जारी रहे अर्को माओवादी जन्मिने दाबी गरेका थिए। त्यसपछि ओली–प्रचण्डबीचको दूरी झन् लम्बिएको सहज अनुमान लगाउन सकिन्छ।
हिजो (शनिबार) बालुवाटारमा अध्यक्षद्वयको भेट भएको थियो। तर, उक्त भेटमा के कुरा भयो ?, त्यो भने गोप्य राखिएको छ।
नेकपाको एकता प्रक्रियालाई फर्केर हेर्दा
२०७४ असोज १७ गते संघीय राजधानी काठमाडौँको सभागृहबाट एकताको उद्घोष गरेको नेकपामा आजको दिनसम्म पुग्दा नेतृत्वबाहेक अन्य कमिटीबीचको एकता हुन सकेको छैन।
गत पुस १२ गते बसेको स्थायी कमिटी बैठकले सचिवालय सदस्य रामबहादुर थापा (संयोजक), महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शङ्कर पोखरेल सम्मिलित कार्यदललाई पुस मसान्तभित्र एकता टुङ्गो लगाउन जिम्मेवारी दिइएको थियो।
कार्यदलका कतिपय सदस्य काठमाडौँ उपत्यकाबाहिर रहेको र कार्यसूचीमा मतभिन्नता कायमै रहेकाले प्रतिवेदन बुझाउन कार्यदल असफल बनेको छ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको व्यक्तिगत र गुटगत स्वार्थमा पार्टी एकता अड्किएको नेकपाका केही नेताहरूको आरोप छ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र एनेकपा माओवादी केन्द्रबीच एकता हुँदा ६ महिनाभित्र तल्ला कमिटीको एकता गरिसक्ने घोषणा गरिएको थियाे। यसबीच नेताहरूको व्यस्तता, विवाद, कहिले दुई अध्यक्ष ओली र प्रचण्ड वा कहिले सचिवालय, स्थायी कमिटी वा कार्यदल हुँदै एकताबारे टुङ्गो लगाउन पटकपटक जिम्मेवारी दिई काम थालिए पनि अन्तिम रूप पाउन भने सकेको छैन।
नेकपाले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता–कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने नीति गत साउन २३ गतेको सचिवालय बैठकले तय गरको थियो। त्यसको उलङ्घन गरिएको असन्तुष्ट नेताहरूको भनाइ छ।
नेकपाले सांगठनिक एकीकरण सहज बनाउन सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसदीय दलका नेता र उपनेता, सङ्घीय संसद् र प्रदेशसभाका प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिहरू, जिल्ला समन्वय समितिका संयोजक तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद (अध्यक्ष र सचिव)को जिम्मेवारी नदिने निर्णय गरेको थियो।
विगतका निर्णयलाई उल्ट्याइएको भन्दै नेकपाको असन्तुष्ट पक्षले नेतृत्वको कार्यशैली ठीक नभएको बताउँदै आएको छ। संगठन, सिद्धान्त, कार्यदिशा र लक्ष्यप्रति अस्पष्टता हुँदा कार्यकर्ताहरूमा निराशा छाएको छ। पार्टीको सिद्धान्त समाजवाद भए पनि व्यवहार नातावाद र आफन्तवादमा परिणत भएको भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसाल र राम कार्कीले नेतृत्वलाई सच्चिन आग्रह गर्दै आएका छन्।
संगठन र तल्लो तहका नेताहरू कामविहीन बन्दा विभिन्न पेशामा लागेका छन्। कोही ठेक्कापट्टा, सरुवा–बढुवा र आर्थिक उपार्जनको बाटोमा केन्द्रित भएको देखिन्छ। नेकपाको नेतृत्वमा मिलन देखिए पनि स्थानीय स्तरमा दुवै पार्टीका कार्यकर्ताबीच हार्दिकता देखिँदैन। जनवर्गीय संगठन, शुभेच्छुक संस्था र भ्रातृ संगठनको एकीकरणमा जति विलम्ब हुन्छ, त्यति नै अविलम्ब नेकपालाई असर पर्ने निश्चित छ।
पार्टीले आत्मसात् गर्ने विचार, पार्टीको विधान परिमार्जन, एकता प्रक्रियाका मापदण्ड र कार्यकर्ताको भावना बुझ्न सकेन भने नेकपा नेतृत्वले वर्तमान समयमा विश्वास गुमाउँदै जाने र भोलिका दिनमा नेतृत्वमा पुग्ने नेताहरूलाई पनि दीर्घकालीन असर पर्ने उत्तिकै सम्भावना हुन्छ।