एजेन्सी– पाकिस्तानी विद्यार्थी मलाला युसफजाइ लगायत सयौं स्कुले विद्यार्थीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका तालिबान बिद्रोही समूहका लडाकु जेलबाटै भागेका छन्।
पाकिस्तानमा १ सय ३२ स्कुले विद्यार्थीको हत्या गरेको अभियोगमा एसानुल्लाह एशान पाकिस्तानी जेलमा थुनिएका थिए। अभियुक्तले आफू जेलबाट भागेको भन्दै एक अडिओ समेत सार्वजनिक गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडिओ क्लिपमा एसानुल्लाहले पाकिस्तानी सुरक्षा संयन्त्र असफल रहेको समेत दावी गरेका छन्। उनले आफू यही जनवरी ११ मा जेलबाट भाग्न ‘सफल’ भएको दावी गरेका हुन्।
‘भगवानको सहायताका कारण सुरक्षा फौजबाट जनवरी ११ मा म भाग्न सफल भएँ,’ उनले अडिओ क्लिपमा भनेका छन्। तर आफू अहिले कहाँ रहेको भन्ने बारे खुलाएका छैनन्। छिट्टै यसबारे विज्ञप्ति जारी गर्ने उनको भनाइ छ।
२०१२ मा पाकिस्तानको स्वात उपत्याकास्थित एक स्कुलमा पढिरहेका विद्यार्थीमाथि तालिबान लडाकुले हमला गरेका थिए। किशोरीलाई स्कुल पठाइएको विरोधमा उनीहरुले आक्रमण गरेका थिए। तर २२ वर्षीया मलाला युसफजाइले त्यसबेला तालिबान हमलाको विरोध गर्दै किशोरी शिक्षाको पक्षमा उभिएकी थिइन्।
सोही कारण मलालालाई नोबेल पुरस्कारबाट सम्मानित समेत गरियो। हाल सार्वजनिक भएको अडिओका बारेमा पाकिस्तानी सुरक्षा फौजले भने पुष्टि नभएको प्रतिक्रिया दिएको छ।