एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरेबियन प्रायद्धीपमा सक्रिय अल कायदाका प्रमुख नेता मारिएको पुष्टि गरेका छन्।
ट्रम्पले अरेबियन प्रायद्धीपका अल कायदा नेता कासिम अल रिमी मारिएको पुष्टि गरेका हुन्। अमेरिकी सेनाले गरेको प्रतिआतंकवादी कारबाहीमा अल रिमी मारिएको ट्रम्पले बताए।
तर ट्रम्पले कहाँ र कसरी अल रिमीलाई मारिएको थियो भनेर केही खुलाएका छैनन्। अल रिमी अरेबियन प्रायद्धीपमा सक्रिय अल कायदाका संस्थापक नेता हुन्।
उक्त क्षेत्रमा सक्रिय अल कायदाले गत वर्षको डिसेम्बर ६ मा फ्लोरिडास्थित अमेरिकी नौसेनाको एक शिविरमा भएको आक्रमणको जिम्मा लिएको छ। एक साउदी प्रशिक्षार्थी पाइलटले उक्त शिबिरमा गोली चलाउँदा ३ जना अमेरिकी सेलर (पानीजहाज चालक) को ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए।
अरेबियन प्रायद्धीपमा सक्रिय अल कायदालाई विश्वकै एक खतरनाक आतंकवादी सञ्जाल मानिन्छ। उक्त समूहले अमेरिकी भूमिमा घातक आक्रमणको तयारी र योजना बनाएको अमेरिकी अधिकारीले बताएका छन्।
अल रिमी मारिएपछि अमेरिका र आफ्ना सहयोगी राष्ट्रहरू सुरक्षित भएको पनि ट्रम्पले बताए। अमेरिका र अमेरिकाका सहयोगीलाई क्षति पुर्याउन खोज्ने जो कोहीलाई पनि सखाप बनाउने समेत उनले चेतावनी दिए।
‘हामीलाई हानि पुर्याउन खोज्ने जो कोहीलाई पनि खोजीखोजी सखाप पारेर अमेरिकी नागरिकको निरन्तर रक्षा गर्ने छौं’, ट्रम्पले भने।
यसअघि जनवरीको सुरुमा अमेरिकी ड्रोन हमलाबाट अलकायदाका लडाकु रहेको पूर्वी यमनस्थित एक भवन ध्वस्त भएको समाचार बाहिर आएको थियो। ट्रम्पले उक्त समाचारलाई बिहीबार पुष्टि गरेका छन्।
अल रिमीले १८ मिनेट लामो एक भिडियोमा डिसेम्बर ६ मा अमेरिकी नौसेनाको शिविरमा भएको हमला आफ्नो समूहले गरेको बताएका थिए। उनले शिबिरमा गोली चलाउने साउदी अरबका वायु सेनाका प्रशिक्षार्थी अधिकृत मोहम्मद अलशामरानीलाई ‘एक बहादुर नायक’ भनेर प्रशंसा समेत गरेका थिए।
अलशामरानीले फ्लोरिडाको पेन्साकोला शिविरमा गोली चलाउनुपूर्व ट्विटरमा एक सन्देश पोष्ट गरेका थिए। ‘म शैतानको विरुद्धमा छु र अमेरिका शैतानहरुको भूमिका परिणत भएको छ’, उक्त सन्देशमा लेखिएको थियो, ‘म तिमीहरूलाई घृणा गर्छु किनकि तिमीहरूले हरेक दिन मुस्लिमविरुद्ध मात्रै होइन, मानवताविरुद्ध समेत अपराध गरिरहेका छौं।’
साथै उक्त सन्देशमा ओसामा बिन लादेनको एक भनाइ समेत राख्दै अलशामरानीले इजरायललाई अमेरिकाले गरेको समर्थनको समेत निन्दा गरेका थिए।