काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’ सम्बन्धी विधेयक ल्याउन लागिएको बताएका छन्।
नेपाल व्यवस्थापन संघको राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खतिवडाले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिए। ‘सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ,’ उनले भने, ‘डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ।सेवाग्राहीले पनि चाँडो सुविधा पाउँछन्।’
खतिवडाले डिजिटल प्रणालीलाई नियमन गर्नका लागि ‘पेमेन्ट गेट वे’ बनाउने तयारी गरिरहेको बताए। औद्योगिक क्षेत्रमा आएको क्रान्तिसँगै सूचना प्रविधिको पनि चुनौती थपिएको खतिवडाको भनाइ छ। खतिवडाले नयाँ सूचना प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्न नसके पछाडि परिने उल्लेख गरे।
अनलाइनमार्फत भुक्तानी बढाएर कागजी रुपैयाँको प्रयोगमा कमि ल्याउने तयारीमा सरकार रहेको खतिवडाले बताए। कार्यक्रममा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुमन घिमिरेले पर्यटनको क्षेत्र व्यवस्थापन गर्न सके मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।संघका अध्यक्ष सुशील भट्टले मुलुकको व्यवस्थापन गर्न संघले सरकारलाई सहयोग गर्दै आइरहेको बताए।
सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। सम्मेलनमा एक हजार १०० प्रतिनिधि छन्।