गलकोट, २७ माघ - जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको पञ्चकोटमा शनिबार करिब १ हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ।
मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्न र धेरै वर्षपछि परेको हिउँमा खेल्न जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुगेका हुन्। बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा शनिबारको फुर्सदिलो समयमा परेको हिउँ तथा पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि १ हजारभन्दा बढी पर्यटक आएको स्थानीय गकुल सापकोटाले बताए।
जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट भएको छ। जिल्लाको अधिकांश स्थानमा हिमपात भए पनि जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पञ्चकोट आउन सकिने भएकाले हिउँ खेल्न र घुम्नका लागि आएको पर्यटक राजेन्द्र सुवेदी बताउँछन्।
वार्षिक १ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अहिले धमाधम पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ। बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइसकेको पञ्चकोटमा दैनिक ४ सयदेखि ५ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि शनिबार पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि भएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए।
स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि वर्षेनि महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिँदै आएको छ। पञ्चकोटमा यही फागुन ९ देखि १५ गतेसम्म पाँचौँ महायज्ञ हुन लागिरहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ।
दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामै अध्ययन तथा अवलोकन गर्न आउने पर्यटक सङ्ख्यामा वृद्धि हुँदै गएको हो। ३ वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झन्डै २० करोड रुपैयाँका संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रूपमा निर्माण हुने विश्वशान्ति कलशको ६० करोड रुपैयाँ लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।
बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको छ।
समुद्री सतहदेखि १ हजार १ सय मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरि लगायतका दर्जन बढी हिमशृङ्खला देख्न सकिन्छ। पञ्चकोटलगायत जिल्लाको ढोरपाटन, थामाको नेटा, गाजाको दहमा हिउँ खेल्ने पर्यटकको घुइँचो नै लागेको थियो। (रासस)