कञ्चनपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन्। भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिए।
‘तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ।’ मन्त्री भट्टराईले भने, ‘यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ। २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौँ गएको सम्झना अझै छ।’ उनले अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिएका थिए। सो अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागीता रहेको थियो।
विमानस्थलमा ५० सिटको जहाज सञ्चालन गर्न समस्या नरहेको बताइएको छ। २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो। विमानस्थल पुनः सञ्चालनका स्थानीयस्तरमा रमेश चन्दको नेतृत्वमा दबाब समूहसमेत गठन गरिएको छ।
विमानस्थल संरक्षण एवं सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालु आवमा विनियोजनसमेत गरेको छ। ६५ बिघ क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर रहेको छ। रासस