बागलुङ– जिल्ला प्रहरी कार्यालय बागलुङमा बाल निगरानी कक्ष स्थापना गरिएको छ। कक्षको बिहीबार जिल्ला अदालत बागलुङका मुख्य न्यायाधीश वासुदेव न्यौपानेले उद्घाटन गरेका थिए।
आपराधिक र गैरकानूनी क्रियाकलापमा संलग्न भएका बालबालिकामाथि निगरानी र अनुसन्धानका लागि छुट्टै कक्ष बनाइएको जिप्रकाका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिएका छन्।
‘१८ वर्षमुनिका बालबालिकालाई अरु व्यक्तिसँगै हिरासतमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले अलग्गै निगरानी कक्ष बनाइएको हो’, उनले भने। ‘बालबालिका विभिन्न घटनामा मुछिएर प्रहरीमा आइरहने, अभिभावकले पनि बच्चा सुध्रियोस् भनेर प्रहरीमै राख्न चाहेकाले बाल निगरानी कक्षको आवश्यकता खड्किइरहेको थियो’, प्रनाउ भट्टले भने।
निगरानी कक्षमा बालमैत्री व्यवहारका साथै बाल मनोविज्ञानमा असर नपुग्ने गरी प्रहरीले अनुसन्धान गर्नेछ। गम्भीर अपराधबाहेकका घटनामा संलग्न बालबालिकालाई प्रहरीले अदालतबाट म्याद लिई २१ दिनसम्म निगरानी कक्षमा राखेर सुधारेपछि अभिभावकको जिम्मा लगाउनेछ। (रासस)